काठमाडौं, बिहिबार, ३ चैत्र २०७८ । होली खेल्दा हामीले छालाको सुरक्षामा दिन भुल्दा विभिन्न स्वास्थ्य समस्या बढ्ने चिकित्सकहरुले बताएका छन् । छाला रोग विशेषज्ञ डा. धवेन्द्र कर्णले बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्ने बताउँछन् ।
उनका अनुसार यस्ता रङले छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनेदेखि छाला सुक्खा र रुखो बनाइदिन्छ। आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ ।
उनले होलीमा सकेसम्म हर्बल रङ प्रयोग गर्न सुझाउँछन् । होली खेल्दा विशेष ध्यान पुर्याउनुपर्छ ।
होली खेल्दा छालालाई कसरी जोगाउँने
-छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम वा म्वइस्चराइजर लगाउँने ( म्वइस्चराइजर छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ।)
-होलीको रङबाट छालालाई जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउँने
-हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउँने
-आँखामा चस्माको प्रयोग गर्ने ( आँखामा रङबाट जोगाउँछ )
होली खेलेपछि
एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ । रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ ।









































