Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
८:०२:०१ बिहान
- ADVERTISEMENT -

बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन काठमाडौँ महानगरको नयाँ रणनीति: अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ खोजिँदै

प्रकाशित मिति: २०८३ असार २३, मंगलबार

102
Shares

काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनलाई दिगो बनाउन र बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन नयाँ रणनीति अघि सारेको छ । महानगरले फोहोर विसर्जन गर्दै आएका अन्य स्थानीय तहहरूसँग ‘वित्तीय साझेदारी’ गर्ने अवधारणा अघि बढाएको हो ।

फोहोरको भार र परिमाणका आधारमा अन्य स्थानीय तहले पनि व्यवस्थापन खर्चमा हिस्सेदारी व्यहोर्नुपर्ने महानगरको अडान छ । यस कदमले सम्बन्धित स्थानीय तहहरूलाई फोहोर व्यवस्थापनमा अपनत्वबोध गराउने विश्वास लिइएको छ ।

५० प्रतिशत वित्तीय हिस्सा लिन महानगर तयार

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ल्यान्डफिल साइट र सो क्षेत्रको पूर्वाधार एवं सामाजिक विकासका लागि महानगरले मात्रै वार्षिक करिब १ अर्ब रुपैयाँ खर्च गरिरहेको जानकारी दिइन् ।

“काठमाडौँ महानगर क्षेत्रबाट तुलनात्मक रूपमा बढी फोहोर उत्पादन हुने भएकाले हामी कुल खर्चको ५० प्रतिशत वित्तीय जिम्मेवारीको हिस्सा लिन तयार छौँ,” कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “बाँकी हिस्सा फोहोरको भारका आधारमा अन्य स्थानीय तहहरूले व्यहोर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।”

स्रोतमै वर्गीकरणलाई प्राथमिकता

महानगरपालिकाले पछिल्लो समय सहरबाट उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गरी बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा घटाउने कार्यलाई तीव्र प्राथमिकता दिएको छ । साइटको आयु बढाउन फोहोरको पृथकीकरण, पुनःप्रयोग (Reuse) र पुनःचक्रीय प्रयोग (Recycle) विधिको प्रवर्द्धन गर्ने विषयमा सरोकारवालाहरूबीच गहन छलफल भइरहेको छ ।

हाल काठमाडौँ उपत्यकाका स्थानीय तहहरूका अतिरिक्त काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहबाट उत्पादित फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

प्राविधिक उपाय खोजिँदै

बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन कस्ता उपाय र अत्याधुनिक प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने विषयमा महानगरले गृहकार्य सुरु गरेको छ । यसै सिलसिलामा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहोरासहितको प्राविधिक टोली तथा वातावरण व्यवस्थापन विभागका अधिकारीहरूबीच विशेष छलफल समेत सम्पन्न भएको छ ।

कच्चा फोहोर सिधै डम्पिङ गर्दा ल्यान्डफिल साइट द्रुत गतिमा भरिँदै गएकाले, सबै सरोकारवाला निकाय र छिमेकी स्थानीय तहहरूको संयुक्त आर्थिक एवं व्यवस्थापकीय प्रयासबाट मात्रै उपत्यकाको फोहोर समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सकिने निष्कर्ष बैठकले निकालेको छ ।

- ADVERTISEMENT -