०६ साउन, गोरखा
नेपाली कांग्रेसको संगठन सुदृढीकरणका लागि सञ्चालन गरिएको महत्त्वाकांक्षी ‘जरा अभियान’ गोरखामा भव्यताका साथ समापन भएको छ। ४४औँ बीपी स्मृति दिवसको विशेष अवसर पारेर नेपाली कांग्रेस गोरखाले आयोजना गरेको कार्यक्रममा अभियानको औपचारिक समापन गरिएको हो।
जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र उहाँका आदर्शलाई गाउँ-गाउँसम्म पुर्याउने उद्देश्यले सञ्चालित यस अभियानले पार्टीको तल्लो तह (जरा) सम्म नयाँ ऊर्जा भरेको नेताहरूले बताएका छन्।
बीपीको विचार नै कांग्रेसको वास्तविक शक्ति

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेश सरकारका मन्त्रीले बीपी कोइरालाको विचार र निष्ठाको राजनीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक बनेको उल्लेख गरे। उनले ‘जरा अभियान’ले पार्टी र जनताबिचको सम्बन्धलाई पुन: कसिलो बनाएको दाबी गरे।

नेपाली कांग्रेस गोरखाका सभापति नन्दलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका शीर्ष नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र ठूलो संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।








































