सिम्पानी न्यूज, काठमाडौं ।
गैरकानुनी रूपमा राज्य कोषबाट भीभीआईपीहरूको उपचारमा गरिएको खर्च पार्टीको कोषबाट फिर्ता गरिएकोबारे नेकपा एमालेभित्र उठेको गम्भीर प्रश्नलाई अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेका छन्। चार दिनसम्म चलेर आइतबार राति सकिएको एमाले सचिवालय बैठकमा यो विषयले प्रवेश पाए पनि अध्यक्ष ओलीले कुनै जवाफ दिएनन्।
कार्यकर्ता पंक्तिले सामाजिक सञ्जाल र अनौपचारिक माध्यमबाट यसबारे व्यापक चासो र असन्तुष्टि व्यक्त गर्दै आएका थिए। कार्यकर्ताको लेबीबाट उठेको रकम नेतृत्वको गल्ती ढाकछोप गर्न खर्च गरिएको भन्दै पार्टीभित्रै तीव्र आपत्ति जनाइएको छ।
एमालेका पुराना नेता उदयराज पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्:
“हिजो ठूलाबढाले गरेको करोडौं अनियमित खर्च मात्र पार्टी कोषबाट तिर्ने हो कि जिन्दगीभर पार्टी काम गर्दागर्दै खानै समस्या परेका पार्टी कार्यकर्तालाई पनि थोरै हेर्ने हो?”
अर्का नेता अरविन्द सिंहले पनि फेसबुकमार्फत आक्रोश पोख्दै लेखेका छन्, “लाखौं पार्टी सदस्यहरूको लेबी आफ्नो कर्तुत लुकाउन सिध्याइयो। पद, पैसा र अवसरको लोभमा कार्यकर्ता पंक्तिलाई दास र लास बनाइयो।”
सचिवालय बैठकमै उठ्यो प्रश्न
तल्लो तह र कार्यकर्ता पंक्तिमा देखिएको यही आक्रोशलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष गोकर्ण विष्टले सचिवालय बैठकमै यसबारे औपचारिक जिज्ञासा राखेका थिए।
विष्टले अध्यक्ष ओलीलाई प्रश्न गर्दै भनेका थिए:
“कार्यकर्ताहरूको लेबीबाट उठेको कोषबाट पैसा सरकारलाई फिर्ता गरियो भनेर मिडियाहरूमा समाचार आएको छ। वास्तवमा भएको के हो? यस्तो गर्न मिल्छ कि मिल्दैन?”
बैठक स्रोतका अनुसार उपाध्यक्ष विष्टले राखेको प्रश्नमा अन्य पदाधिकारीहरूको समेत समर्थन रहेको र यसबारे स्पष्ट जवाफ माग गरिएको थियो। तर, अध्यक्ष ओलीले उक्त प्रश्नको कुनै जवाफ नदिई बैठक टुङ्ग्याएका थिए।
किन फिर्ता गरियो राज्यकोषको रकम?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा राज्य कोषबाट विदेशमा गरिएको उपचार खर्च बेहोर्ने तत्कालीन निर्णयमाथि छानबीन थालेपछि एमालेले हतार-हतार उक्त रकम पार्टी कोषबाट फिर्ता गरेको थियो।
पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाललाई विदेशमा उपचार गराउँदा राज्य कोषबाट व्यहोरिएको कुल ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ एमालेले आफ्नो पार्टी कोषबाट सरकारी खातामा जम्मा गरिदिएको छ। सर्वसाधारण कार्यकर्ताको रगत-पसिना र लेबीबाट जम्मा भएको रकम नेताहरूको उपचार खर्च तिर्न उपयोग भएपछि एमालेभित्र यसले ठूलो विवादको रूप लिएको छ।








































