काठमाडौं । नेपालमा कोभिड १९ को संक्रमण निरन्तर उकालो लागिरहेको छ । संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनसमेत फैलिइसकेको अवस्थामा संक्रमितको चाप अत्याधिक बढ्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।
यसैबीच, कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गृह मन्त्रालयलाई भीडभाड नियन्त्रणका मापदण्डसहित स्मार्ट लकडाउनसम्मका १३ बुँदे निर्णय गर्दै लागु गर्न सिफारिस गरेको छ । तर, ओमिक्रोन भेरियन्टकै कारण आउनसक्ने तेस्रो लहरको संक्रमण नियन्त्रणका लागि लकडाउन नगर्न र कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई अझै दू्रत गतिमा अघि बढाउन जनस्वाथ्यविदहरुले सुझाव दिएका छन् ।









































