प्रिय गोरखा क्षेत्र १ का दाजुभाइ तथा दिदिबहिनीहरू,
म अहिले अमेरिका क्यालिफोर्नियाबाट यो पत्र लेखिरहेकी छु। शरीर विदेशमा भए पनि मेरो मन, भावना र आत्मा गोरखामै छ। गोरखा केवल भूगोल होइन—यो पृथ्वीनारायण शाहको साहस, बलिदान र स्वाभिमानले नेपाल एकीकरणको इतिहास बोकेको पवित्र भूमि हो। हरेक राजनीतिक कालखण्डमा गोरखाले आफ्नै छुट्टै पहिचान र योगदान स्थापित गरेको छ।
तर आजको यथार्थ पीडादायी छ। धेरै गाउँमा वृद्ध आमाबुबा मात्र बस्न बाध्य छन्, युवाहरू अवसरको खोजीमा विदेशिएका छन्, बालबालिका उच्च शिक्षाको लागि शहरतिर केन्द्रित भएका छन्। गाउँको जीवन संकटमा छ। बिरामी पर्दा एम्बुलेन्ससम्म पुर्याउन कठिनाइ, मर्दा मलामी र जिउँदाको जन्ती पुर्याउन समस्या—यी हाम्रो तीतो यथार्थ हुन्। खेतीयोग्य जमिन बाँझिँदै छन्। बन्ने वा नबन्ने अन्योलमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाका कारण कतिपय बस्ती डुबानको त्रासमा शून्यप्राय बनेका छन्। कसैले मुआब्जा लिए पनि सही सदुपयोग गर्न नसक्दा भविष्य अन्योलमा छ, त कसैले आयोजना बनेपछि केही गरौँला भनेर सपना बुन्दै बस्नुपरेको छ। यही कारण विकासका कामहरू पनि अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू ओझेलमा परेका छन्।
देश पनि गम्भीर मोडमा आइपुगेको छ। गत भदौमा भएको जेन्जी आन्दोलनपछि कतिले ज्यान गुमाए, कतिपय ऐतिहासिक सम्पदाहरू क्षतिग्रस्त भए। यस्तो परिस्थितिमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनले देशको भविष्यको दिशा तय गर्नेछ भन्ने मलाई लाग्छ।
म पनि तपाईंहरूजस्तै कहिलेकाहीँ अन्योल र अस्थिरतामा थिएँ। तर गहिरो सोचपछि मैले बुझे—हामीलाई क्षणिक रूपमा भाइरल हुने अनुहार होइन, स्थानीय समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्ध नेतृत्व आवश्यक छ। त्यसैले आज मेरो भरोसा नेपाली कांग्रेसका युवा उम्मेदवार प्रेम कुमार खत्रीप्रति छ।
उहाँ हाम्रो ठाउँका व्यक्ति मात्र होइन, हाम्रा गाउँका पीडा, युवा, विद्यार्थी, महिला, वृद्ध, जनजाति, आदिवासी, दलित तथा पछाडि पारिएका समुदायका भावना नजिकबाट बुझ्ने सक्षम व्यक्तित्व हुनुहुन्छ। शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधार उहाँका प्राथमिकता हुन्। पर्यटन क्षेत्रमा लामो अनुभव भएकाले गोरखाको पर्यटन विकासमा उहाँको विशेष पहल हुनेछ भन्ने विश्वास पनि मलाई छ।
समादरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, म विनम्र अनुरोध गर्दछु—केवल चुनाव चिन्ह, लोगो वा चम्किला प्रचारमा भ्रमित नहुनुहोस्। सामाजिक सञ्जालका भाइरल लहरको पछि नलाग्नुहोस्। यो मत हाम्रो गाउँ, आमाबुबा र सन्तानको भविष्यसँग जोडिएको छ।
हाम्रो सपना के हो?
गाउँ फेरि भरियोस्।
युवा स्वदेश फर्कून्।
महिला सुरक्षित र आत्मनिर्भर बनून्।
गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा उपलब्ध होस्।
वृद्धवृद्धालाई सम्मान र हेरचाह मिलोस्।
आदिवासी, जनजाति र गरिब समुदायले न्याय र अवसर पाऊन्।
र बुढीगण्डकी जलविद्युत आयोजना द्रुत गतिमा अघि बढोस्।
हामीलाई चोक–चोकमा ठूला गफ दिने होइन, काम गरेर देखाउने नेतृत्व चाहिएको छ। किनकि यो केवल मत होइन—यो हाम्रो आवाज, हाम्रो जिम्मेवारी र हाम्रो भोलिको निर्णय हो।
त्यसैले गोरखा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका लागि रुख चिन्हमा मतदान गरी प्रेम कुमार खत्रीलाई विजयी गराइदिनुहुन सादर अनुरोध गर्दछु।
जय नेपाल।
सिर्जना भट्ट








































