कपिल बन्जारा
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइन्छ। साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ। माघ १ गते उत्तरायण र साउन १ गते दक्षिणायनको दिनलाई विशेष रूपमा मनाइन्छ।
असारभर नेपाली किसानहरू कृषि कर्ममा व्यस्त हुन्छन्। हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न साउन १ गते लुतो फाल्ने गरिन्छ। एक महिना काम गरेका किसानहरू साउन १ गते आफन्तसहित जम्मा भई रमाइलो गर्छन्। परम्परानुसार, कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।
लुतो फाल्दा परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरा र कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउँछन्।
साउन महिनाभर देशभरका शिवालय, विशेषगरी पशुपतिनाथ मन्दिरमा, भक्तजनको भीड लाग्छ। साउन महिना शिवजीको र सोमबार शिवको बार मानिन्छ।
हिन्दू महिलाहरू साउनलाई विशेष पर्वको रूपमा मनाउँछन्। उनीहरूले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई हरियो चुरा लगाउँछन्। तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन।
साउने संक्रान्ति किराँती समुदायमा ‘सिसेक्पा तङ्नाम’को नामले मनाइन्छ। किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिको दिन नयाँ पाकेका फलफूलहरू चढाई डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ।
पश्चिम कर्णालीको हुम्ला-जुम्लातिरका आइडी जातिहरूले साउने संक्रान्ति पर्वलाई बलिरहेको अगुल्टोलाई दक्षिणतिर फ्याँकेर देवतालाई सम्बोधन गर्दै वरिपरिका नराम्रा रोगव्याधहरू हटाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्क, शुभ लक्षणको प्रतीक सेतो गोरू भित्र आऊ, अनिकाल जाऊ, सहकाल आऊ भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाएर मनाउँछन्।
पूर्वका किरात लिम्बू, खम्बू, तराईका थारु, पश्चिमका मगर, गुरुङ आदिले साउने संक्रान्ति पर्वलाई ‘लुतो फाल्ने’ चाड मात्र होइन, काण्डरकु नामक राक्षसभन्दा फरक प्रसङ्गमा माङहाङ नामक पूर्खा वा राजनेताको दैवी प्रकोप र अनिकालको काहानीसँग तादात्म्यता राख्दै प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान, विगत र वर्तमानको समीक्षा र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मनाउँछन्।
नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने संक्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई आवश्यक अन्न, फल, फूल, पात (च्योङ)हरू सङ्कलन गरी ल्याइन्छ। दिउँसो हरियो बाबियोको डोरी बाटी घरको मूलढोकामाथि टाँगेर झुन्ड्याउने चलन छ। परिवारले सबेरै आफ्नो घरमा रहेको अन्न, फलफूल र परिकारको खाना खाएर रमाइलो गर्छन्। साँझपख गाउँघरमा मिठो-मसिनो खाएपछि बन्दुक पड्काउने, थाल, झ्याम्टा, नाङ्लो र ढोल बजाउने गरिन्छ।
घरका सबै उमेर समूहका सदस्यहरूले घरमुली बुढापाकाको निर्देशनमा घरभित्र र वरपर यी सामग्रीहरू बजाउँदै खराब तत्वलाई खेदाउँछन्। यसरी, ‘सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्दै दुःख-पीडालाई पर्वको रूपमा मनाउँदै खेदाएर रमाउँछन्।
मगरहरूले साउने संक्रान्ति र माघे संक्रान्तिलाई महान पर्वको रूपमा मनाउँछन्। साउने संक्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे संक्रान्तिलाई ‘वर्षा लाग्यो, अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउँछन्।
थकाली आदिवासी जनजातिको परम्परागत मुखियाप्रणाली पनि साउने संक्रान्तिको दिन चाड मान्दै जूवातास खेल्न छुट दिन्छ, तर अरु दिनमा जूवातास खेलिएमा दण्ड वा जरिवाना गर्ने चलन छ।
तमु-गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउँछन्। पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउँछन्।
लेखक कपिल बञ्जारा नेपाली साहित्यमा एक प्रसिद्ध लेखक हुन्। उनको लेखनमा समाजका विभिन्न पक्षहरूलाई स्पष्ट र मार्मिक रुपमा प्रस्तुत गरिएको छ। उनले लेखेका केही कृतिहरूमा नेपाली जनजीवन, सामाजिक विकृतिहरू, र राजनीतिक परिप्रेक्ष्यहरूलाई प्रस्तुत गरिएको पाइन्छ। उनका रचनाहरूले पाठकलाई सोच्न बाध्य बनाउँछन् र समाज सुधारको संदेश दिन्छन्। कपिल बञ्जाराका साहित्यिक कृतिहरू नेपाली साहित्यमा महत्वपूर्ण स्थान राख्छन् र पाठकहरूका बीच लोकप्रिय छन्।








































