अमेरिकाको बोस्टनस्थित म्यासाचुसेट जेनेरल अस्पतालका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा इन्जिनियरिङ गरिएको सुँगुरको मिर्गौला ६२ वर्षीय एक बिरामीमा प्रत्यारोपण गरेका छन् । सुँगुरको मिर्गौलाजीवित मानिसमा प्रत्यारोपण गरिएको यो पहिलो पटक हो । यदि यो सफल भयो भने, मिर्गौला फेल भएका विश्वभरमा लाखौं बिरामीहरूलाई आशा दिनेछ ।मिर्गौलाले रगतबाट फोहोर पदार्थ र अतिरिक्त तरल पदार्थ बाहिर निकाल्छ। नयाँ मिर्गौलाले गत हप्ताको शल्यक्रियालगत्तै पिसाब उत्पादन गर्न थालेको र बिरामीको अवस्थामा सुधार भइरहेको म्यासाचुसेट्स अस्पतालका चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार बिरामी अहिले अस्पतालभित्र घुम्न सक्ने भएको र छिट्टै डिस्चार्ज हुन सक्ने बताए ।
युनिभर्सिटी अफ मेरिल्यान्डका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट मुटु रोग भएका बिरामीहरूमा दुई पटक मुटु प्रत्यारोपण गरिसकेका छन्। उनीहरूमा सुरुमा अंगले काम गरेको थियो भने शरीरले अस्वीकार गरेको थिएन । तर केही समयपछि भने मुटु प्रत्यारोपण गरिएका दुवै बिरामीको आफ्ना रोगको प्रकृतिका कारण मृत्यु भएको थियो ।
यस प्रकारका अत्याधुनिक प्रयोगात्मक उपचारहरूका लागि सहमत हुने बिरामीहरू प्रायः अत्यन्तै बिरामी हुन्छन् र तिनीहरूसँग थोरै मात्र विकल्पहरू उपलब्ध हुन्छन् । प्रायः उनीहरू मानव अंग प्राप्तिको प्रतीक्षा सूचीका लागि योग्य हुँदैनन् ।
बोस्टनमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामी रिचर्ड ‘रिक’ स्लेम्यान हुन् । उनी राज्यको यातायात विभागका पर्यवेक्षक हुन् । उनी धेरै वर्षदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए, र एक दशकभन्दा बढी समयदेखि मास जनरलमा उपचार गराइरहेका थिए।
आफ्नो मिर्गौला फेल भएपछि स्लेम्यानले सात वर्षसम्म डायलासिसमा थिए । अन्ततः सन् २०१८ मा मानव मिर्गौला प्राप्त गरे। तर, प्रत्यारोपण गरिएको अंग पाँच वर्ष भित्रै असफल भयो र त्यसपछि उनले पुन: डायलासिस सुरू गर्नुपर्यो । जसका कारण उनमा हृदयघातलगायत अन्य जटिलताहरू विकास भएको डा. विलियम्सले बताए ।
‘जब स्लेम्यानले २०२३ मा डायलासिस पुन: सुरु गरे, उनमा गम्भीर भास्कुलर जटिलताहरू देखियो । उनको रक्त नलीहरू जम्दै र असफल भइरहेका थिए । उनलाई बारम्बार अस्पतालमा भर्ना गर्नु परेको थियो,’ डा. विलियम्सले भने, ‘आफ्नो स्वास्थ्य समस्याको बाबजुद पनि काम गरिरहने स्लेम्यानले अर्को मानव मिर्गौलाको लागि लामो समय पर्खनुपर्ने भएका कारण उनी निराश थिए । मानिसको मिर्गौलाका लागि पाँचदेखि ६ वर्ष कुर्नुपर्ने थियो । जटिलताहरूका कारण उनी यो अवधिसम्म बाँच्न सम्भव थिएन बच्न सक्षम हुने थिएनन् ।’
जब डा. विलियम्सले स्लेम्यानलाई सुँगुरको मिर्गौला प्राप्त गर्नेबारे सोधे, उनीसँग धेरै प्रश्नहरू थिए । तर, अन्ततः अगाडि बढ्ने निर्णय गरे। ‘मैले यसलाई मलाई मद्दत गर्ने तरिकाको रूपमा मात्र नभई बाँच्नको लागि प्रत्यारोपण आवश्यक पर्ने हजारौं मानिसहरूको लागि आशा प्रदान गर्ने तरिकाको रूपमा देखेको छु,’ मास जनरलद्वारा उपलब्ध गराइएको विज्ञप्तिमा उनले भनेका छन् ।
स्लेम्यानको नयाँ मिर्गौलाले अहिलेसम्म काम गरिरहेको देखिन्छ भने उनलाई डायलासिस आवश्यक परेको छैन । सुँगुरको नयाँ मिर्गौलाले पिसाब बनाउँदै छ भने क्रिएटिनिन र अनावश्यक तरल पदार्थलाई पनि फिल्टर गर्दैछ । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्थामा दिनानुदिन सुधार हुँदै गइरहेको छ । यद्यपि डाक्टरहरूले स्लेम्यानलाई अंग अस्वीकारको लक्षणहरूका लागि निगरानीमा राखिरहेका छन् ।
मास जनरलको लेगोररेटा सेन्टर फर क्लिनिकल ट्रान्सप्लान्ट टोलरेन्सका निर्देशक डा. तात्सुओ कावाई र डा. नाहेल इलियाससहित सर्जनहरूको टोलीले चार घण्टा लामो शल्यक्रिया गरेको थियो।









































