स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार (भोलि) देखि सिंहदरबार परिसरबाटै सेवा प्रवाह गर्ने भएको छ। गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि हाल मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट काम गरिरहेको थियो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, प्रधानमन्त्री कार्यालयसँग समन्वय गरी सिंहदरबार कम्पाउन्डको दक्षिण–पश्चिम क्षेत्रमा नेपाली सेनाको नर्सिङ दल गणले प्रयोग गर्दै आएको खाली जग्गामा अस्थायी संरचना निर्माण गरिएको छ। सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि विश्व स्वास्थ्य संगठन को सहयोगमा त्यहाँ ६ वटा प्रिफ्याब भवन निर्माण गरिएका छन्। साथै, सेनाले विगतमा प्रयोग गर्दै आएका ६ वटा टहराहरूमा समेत रङरोगन गरी मन्त्रालयको काम कारबाही सुरु गर्न तयार पारिएको छ। संगठनका क्षेत्रीय प्रमुखले आज ६ वटा प्रिफ्याब बिल्डिङहरू मन्त्रालयलाई हस्तान्तरण गरेका छन्।
प्रवक्ता बुढाथोकीले जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्रबाहेकका सबै कारबाही बिहीबारदेखि नयाँ अस्थायी संरचनाबाट सुरु हुने जानकारी दिए। उनले बाँकी दुई शाखाहरूलाई पनि संरचनाको व्यवस्थापन भएपछि केही दिनभित्रै सिंहदरबारबाटै पूर्ण रूपमा सञ्चालन गरिने बताए।



















