अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । अनेकौँ मतभेदका कारण आफ्नो देशलाई संयुक्त राष्ट्र संघको सो एजेन्सीबाट फिर्ता बोलाउने आदेश दिएको अर्जेन्टिनी राष्ट्रपति हाभियर मिलेइले बताए ।
आफ्नो यो निर्णय उनको मित्र तथा मित्र राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँग मिल्दोजुल्दो छ । ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकालाई डब्लुएचओबाट फिर्ता लिने प्रक्रिया सुरु गरेका थिए । डब्ल्यूएचओ बाट अर्को सदस्य देशको बहिर्गमनले विश्वव्यापी स्वास्थ्यमा सहकार्यलाई अझ कमजोर बनाउने चिन्ता गर्न थालिएको छ । तर, विश्व स्वास्थ्य संगठनले २०२४ र २०२५ को लागि अनुमानित ६.९ अर्ब अमेरिकी डलर बजेटमध्ये अर्जेन्टिनाबाट लगभग ८० लाख अमेरिकी डलर मात्र प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।
अर्जेन्टिनाको निर्णय स्वास्थ्य व्यवस्थापन विशेष गरी कोभिड–१९ महामारीको समयमा उत्पन्न गहिरो भिन्नतामा आधारित भएको प्रवक्ता म्यानुएल एडोर्नीले ब्यूनस आयर्समा भने । त्यति बेला डब्ल्यूएचओको दिशानिर्देशहरूले मानव इतिहासको सबैभन्दा ठुलो लकडाउन निम्त्याएको उनको भनाइ छ ।









































