भजनी नगरपालिका-४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० डगौरालाई चैत १५ मा बिरालोले टोकेको थियो। त्यसपछि उनी रेबिज विरुद्धको सुई सेती प्रादेशिक अस्पताल धनगढीमा पुगेकी थिइन्।
आफन्त मनीषा चौधरीका अनुसार घरमै पालेको बिरालोले डगौराको खुट्टामा टोकेको थियो। उनले त्यही दिन सेती अस्पतालमा रेबिज विरुद्धको सुई लगाएकी थिइन्।
दोस्रो डोज लगाउन चैत १८ गते अस्पताल पुगेकी थिइन्। सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै घरमा फोन गरेकी थिइन्। घरबाट आफन्त अस्पताल पुग्दा भेन्टिलेटरमा राखिसकिएको चौधरीले बताइन्।
उपचारका क्रममा आज बिहान मृत्यु भएको भन्दै अस्पतालले खबर गरेको उनले बताइन्। “अस्पतालले आज शव बुझ्न अनुरोध गरेको छ,” चौधरीले भनिन्।
स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै आफन्तजनले विरोध जनाएका छन्। “आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान गएको छ,” चौधरीले भनिन्, “कुनै ठूलो घाउ वा चोट पनि थिएन। यो त सरासर लापरवाही हो।”
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिज विरुद्धको सुई लगाउनुपर्छ। रेबिज विरुद्धको सुई लगाउँदा विरलैमा यस्तो समस्या देखिने गरेको डा. कमरको भनाइ छ। “अस्पताल वा चिकित्सकको कुनै गल्ती छैन, लापरवाही पनि भएको छैन,” डा. कमर भन्छन्, “कहिलेकाहीं यस्तो समस्या देखिन्छ।”
डगारौका परिवारले भने शव बुझ्न मानेका छैनन्। उनीहरू विरोधमा उत्रिएका छन्।









































