काठमाडौं । सरकारले नेपाली नागरिकलाई बेलायती र भारतीय सेनामा मात्र भर्ना हुने कानुनी प्रबन्ध मिलाएको छ । तर, गैरकानुनी रूपमा कति नेपाली कुन कुन देशको सेनामा आबद्ध भए भन्ने तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।
गैरकानुनी रूपमा करिब आधा दर्जन मुलुकको सेनामा नेपाली नागरिक आबद्ध भएको सैन्यविद्ले बताएका छन् ।
अमेरिका, फ्रान्स, ब्रुनाई, रसिया, युक्रेन, सिंगापुरलगायतका देशको सेनामा नेपाली संलग्न रहेको पाइएको सैन्यविद् डा. प्रेमसिंह बस्न्यातले जिकिर गरेका छन् । सैनिक इतिहासमा विद्यावारिधि गरेको नेपाली सेनाका पूर्व सहायक रथी बस्न्यात नेपालको परराष्ट्र नीति विपरीत ती देशको सेनामा नेपाली आबद्ध रहेको दाबी गर्छन् ।
गैरकानुनी रूपमा विदेशी सेनामा नेपाली आबद्ध भइरहेको तथ्य भने रुसी सेनामा रहेर युक्रेनसँगको युद्धमा १२ जनाले ज्यान गुमाएपछि सतहमा आएको छ । भलै परराष्ट्र मन्त्रालयले १० जनाको मात्र मृत्युको पुष्टि गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै युगान्डाको भ्रमणबाट फर्केर नेपाली नागरिक रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील रहेको बताए । तर प्रधानमन्त्रीको गम्भीरताले परिणाम दिन सकेको छैन । सरकारले कुन कुन देशको सेनामा नेपाली छन् भन्ने पत्ता लगाउन समेत पहल लिएको छैन ।
प्रचण्डले भनेका थिए, ‘जागिर खाने नाममा जहाँ पायो त्यहीँ, नेपालको राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने, अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा मात्र २०० नेपाली भर्ना भएको जानकारी दिएका छन् । त्यसमध्ये १०० जनाले उद्धारका लागि सरकारसँग हारगुहार गरिरहेका छन् । सरकारले उनीहरूको उद्धार गर्न सकेको छैन । यसबाहेक युक्रेनी सेनामा पनि नेपाली रहेको सूचना प्राप्त भएको प्रधानमन्त्रीले बताएका छन् ।
१९४७ को सुगौली सन्धिपछि नेपालीलाई औपचारिक रूपमा भारतीय र बेलायती सेनामा भर्ना हुन छुट छ । तर, नेपाली यसबाहेकको देशका सेनामा भर्ना हुँदा सरकारले न त्यसलाई रोक्न सकेको छ, न कानुनी निकास दिन सकेको छ ।
हाल ४ हजार नेपाली बेलायतको गोर्खा सेनामा कार्यरत छन् । त्यस्तै २२ हजार नेपाली भारतीय गोर्खा सैनिक गोर्खा पल्टनमा आबद्ध छन् । सुगौली सन्धिका अतिरिक्त १५ मे १८१५ मा बडाकाजी अम्मरसिंह थापा र ब्रिटिस मेजर–जनरल सर डेबिड अक्टोरलोनीबिच भएको दुई पक्षीय सम्झौता अनुसार नेपाली गोर्खा सेनाको रूपमा जाने गरेका छन् । १५ मे १८१५ मा भारतको हिमाचल प्रदेशको मलाउ किल्लामा दुई पक्षीय एग्रिमेन्ट समेत भएको थियो ।
उसो त यो सन्धिले नछुने सिंगापुर सेनामा पनि नेपाली कार्यरत छन् । सिंगापुर सेनामा भर्नाका लागि राजधानी काठमाडौँमै तालिम गराउने गरिन्छ । तर, सरकारले यो विषयमा पनि आँखा चिम्लिरहेको छ ।
लडाइँको अग्र मोर्चामा नेपालीलाई सम्बद्ध देशको सेनाले खटाउने गरेको छ । हालै युक्रेन रसियाबिचको युद्धमा त्यही भयो ।









































