काठमाडौं : नेपालमा डेंगुको देखिन थालेको करिब दुई दशक भयो। यस वर्ष भने अहिलसम्मकै सबैभन्दा धेरै नेपाली डेंगुबाट संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार यस वर्ष डेंगुका बिरामीको संख्या २१ हजार ३५२ पुगिसकेको छ।
यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म २७ जनाको मृत्यु भइसकेको इडिसिडीले जनाएको छ।
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।
इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।
यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।
सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। हुन त विगत दुई वर्ष नेपालमा कोरोना महामारीले भएको लकडाउन तथा निषेधाज्ञाले डेंगुको संक्रमण न्यून भएको विज्ञहरू बताउँछन्।









































