काठमाडौँ, बुधबार, ५ माघ २०७८ । नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४.९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा ३८.५५ प्रतिशत अर्थात् ५ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि गत २८ वैशाख २०७८ मा ९ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण भएको थियो ।
मंगलबार थपिएको नयाँ संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । हाल देशभर गरेर २८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।
भेन्टिलेटरमा रहेका मध्ये १८ जना बाग्मती प्रदेशका छन् भने प्रदेश १ का आठ जना र सुदूरपश्चिम प्रदेशका दुई जना छन् । त्यस्तै, देशभर १ सय ५१ जना संक्रमित आईसीयूमा छन् । १ हजार २ सय १८ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाको तेस्रो लहरको यो संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले आंँकलन गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।









































