एजेन्सी, सोमबार, १५ भाद्र २०७७ । कोरोना भाइरसको विश्वब्यापी महामारीले जनधनको ठूलो क्षति त भएको छ नै, यसले मानव जगतलाई सचेत र थप क्रियाशिल पनि बनाएको छ । विश्वभरका वैज्ञानिकहरु खोप विकासका लागि अहोरात्र लागि परेका छन । विशेषज्ञहरुमा एउटै धुन सवार छ, त्यो हो, कोरोना संक्रमणको निदान । यस्ता प्रयासहरुले ढिलो चाँडो मानव जगतलाई सुरक्षा र समृद्धि दुवै दिनेमा कुनै शंका छैन ।

यस्तै सन्दर्भमा रुसका वैज्ञानिकहरुले पनि एउटा नौलो सफलता हात पारेका छन । उनीहरुले यस्तो उपकरण बनाएका छन, जसले हावामा भएका भाइरस, ब्याक्टेरिया र विषाक्त पदार्थहरु बारे पत्ता लगाउँछ । यो उपकरणले कोरोना भाइरसको पहिचान पनि गर्न सक्छ । हावाजन्य रोगहरुका बारेमा पत्ता लगाउनुका साथै यसले केही सेकेण्ड भित्रै संभावित खतराको सूचना पनि दिन्छ र त्यसको स्रोतको बारेमा जानकारी पनि दिन्छ ।

गत शुक्रबार रुसको राजधानी मस्को नजिकै ‘सैन्य औद्योगिक मञ्च २०२० ’ मा ‘केमेस्ट्री बायो’ नामक उपकरणको प्रदर्शन गरियो । यो उपकरण प्ःव् फ्याक्ट्रीमा बनाइएको थियो । विश्वलाई कोरोनाविरुद्धको पहिलो खोप दिएको दावी गरेको गामालेया ईन्स्टिच्युटको टिम पनि यो उपकरणको विकासमा सम्मिलित छ । ‘केमेस्ट्री बायो’ उपकरणको विकास गर्ने टिम मस्कोको गामालेया ईन्स्टिच्युट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजी विभागसंग पनि जोडिएका छन ।

झट्ट हेर्दा यो उपकरण रेफ्रिजेरेटर जस्तै देखिन्छ । यो उपकरण पकेट ग्याजेट नभए पनि थोरै स्थान वा स–साना प्रयोगशालाहरुमा पनि प्रयोग गर्न सकिने आकारमा बनाइएको छ । यो उपकरण मल्टिपल लेयरमा आधारित छ । यसले हावामा भएका कोरोनालगायत अन्य विभिन्न प्रकारका ब्याक्टेरिया वा विषक्त तत्वहरुको पत्ता लगाउँछ । यसले दुई चरणमा काम गर्छ ।

पहिलो चरण अन्तर्गत आसपासको हावाको नमुना संकलन गर्छ । १० देखि १५ सेकेण्ड भित्र हावामा रहेका भाइरस, ब्याक्टेरिया वा अन्य विषक्त तत्वहरुका संकेत रहे नरहेको किटान गरि जानकारी दिन्छ । यो अर्थात पहिलो चरणको सुरुवाती विश्लेषणबाट रोगजन्य कारणहरु बारे पत्ता लगाउन सक्दैन । तर दोस्रो चरणमा हावाको नमुनालाई पुनः एक पटक विस्तृत रुपमा विश्लेषण गर्छ ।
यो क्रममा हावामा रहेका सुक्ष्म जीव वा तत्वहरुको स्पष्ट पहिचान गर्छ । यसका लागि १ देखि २ घण्टाको समय लाग्छ । यो उपकरणलाई मानवीय भिडभाड हुने स्थानहरुमा जडान गरी कोरोनालगायतका विभिन्न प्रकारका संक्रमण र समस्याहरु बारे सर्वसाधारणलाइ सचेत गराउने उद्देश्य राखिएको रसियाली सञ्चार माध्यम आरटी न्युज डट कमले जनाएको छ ।









































