धनुषा, २१ वैशाख
प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले समयसापेक्ष विज्ञान र प्रविधिको सही सदुपयोग गर्दै लैजानुपर्ने धारणा राख्नुभएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालको प्रथम प्रदेशस्तरीय भेलाको आज जनकपुरमा उद्घाटन गर्दै प्रमुख कायस्थले शिक्षा जगत्मा पहिलेदेखि नै प्रविधिको प्रयोग हुँदै आइरहेको स्मरण गराउँदै आधुनिक समयमा प्रविधिले गरेको विकासलाई सकारात्मकरुपमा सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
युवा वर्गमा प्रविधिको दुरुपयोग गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले प्रविधिको सही सदुपयोग हुनसके कुशल तथा दक्ष युवा तयार हुने धारणासमेत व्यक्त गर्नुभयो । उहाँले प्रविधिको उचित र सकारात्मक प्रयोग गर्दा मानसिक विकास हुने तथा गलत प्रयोग गर्दा नराम्रो विकृति तथा आपराधिक मानसिकताको विकास पनि हुनसक्ने धारणा राख्नुभयो ।
प्राध्यापक भोगेन्द्र झाले प्रविधिको विकासले स्वरोजगारमा वृद्धि हुने र समाज सकारात्मक दिशामा अघि बढ्ने बताउनुभयो । प्रविधिमूलक सीपको जानकारी भए स्वदेश मात्रै नभएर पूरै विश्वमै रोजगार पाउन सकिने उहाँले तर्क राख्नुभयो । प्रथम प्रदेशस्तरीय भेलाले २५ सदस्यीय तदर्थ समिति चयन गर्ने बताइएको छ ।
यसैबीच दाइजो प्रथाको अन्त्य गर्न प्रदेश २ मा मुस्लिम समुदायद्वारा सञ्चालित ‘मिसन दहेजमुक्त समाज’ अभियानले प्रत्येक वर्ष १० जना गरीब मुस्लिम परिवारका छोरीलाई विवाह गरिदिने निर्णय गरेको छ । दाइजो लिनेलाई सामाजिक बहिष्कार गर्ने उद्देश्यका साथ अघि बढिरहेको यस समाजले मुस्लिम समुदाय मात्रै होइन गैर मुस्लिमलाई समेत समेटेर अघि बढ्ने निर्णय गरेको हो । आज प्रदेश नं २ मा बसेको मुस्लिम समुदायको भेलाले यस्तो निर्णय गरेको हो ।
प्रदेशका आठवटै जिल्लाका मुस्लिम समुदायका बौद्धिक वर्गको भेलाबाट राइनको अध्यक्षतामा गठित १७ सदस्यीय सो समितिको उपाध्यक्षमा अब्दुलरहीम मिकरानी, महासचिवमा इदमोहम्मद साफी ९जानी खान०, सचिवमा अब्दुल हसन र कोषाध्यक्षमा शबनम खातुनलाई चयन गरिएको छ । प्रदेश समितिपछि प्रत्येक जिल्ला र स्थानीय तहमा समिति गठन गरी अभियानलाई तीव्रताका साथ अघि बढाइने अभिन्ता मोहम्मद साजिद हुसैनले बताउनुभयो । रासस









































