- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पाँच करोड लगानी राखेर दर्ता भयो इनड्राइभ

May 6, 2024
160
Shares
- ADVERTISEMENT -

लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको राइड हेलिङ प्लाटफर्म इनड्राइभ अब भने उद्योगका रूपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा अघि सारेको हो ।

कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ प्रतिस्पर्धात्मक राइड सेयरिङ व्यवसायमा सामेल भएको छ । प्यानमा दर्तालगायतका करसम्बन्धी प्रक्रिया पनि पूरा भइसकेकाले अब राइडरहरूबाट कमिसन उठाउन सुरु गरिएको इनड्राइभका एक प्रतिनिधिले बताए । कति प्रतिशत कमिसन लिने भन्नेचाहिँ औपचारिक जानकारीमा आइसकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

हाल सञ्चालनमा रहेका केही राइड सेयरिङ प्लाटफर्मले स्पष्ट कानुनी प्रावधानबिनै २० प्रतिशतसम्म कमिसन लिने गरेको उल्लेख गर्दै उद्योग विभागका अधिकारीले यी विषयमा पनि प्रक्रियागत र कानुनी स्पष्टता हुनुपर्ने धारणा राखे । ‘राइड सेयरिङमा कानुनी स्पष्टता नहुँदा पठाओजस्ता कम्पनी कम्प्युटरसम्बन्धी काम गर्ने भनेर दर्ता भएका छन्,’ उनले भने, ‘यति धेरै सेवा दिने क्षेत्र व्यवस्थित हुनुपर्‍यो भनेर हालै मात्र राइड सेयरिङलाई उद्योग तथा सेवाको मान्यता दिइएको छ ।’

लगानी सम्मेलनको सेरोफेरोमा जारी ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ मा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ लाई संशोधन गर्दै राइड सेयरिङमा ७० प्रतिशतसम्म विदेशी लगानी खुला गरेको थियो । यातायात अत्यावश्यक र संवेदनशील सेवा भएको र विद्युतीय प्लाटफर्मको प्रयोग गरी सेवा प्रवाह गर्ने गरी वर्गीकरणमा समावेश भएकाले यस प्रकारको सेवा सञ्चालन गर्दा नेपालीको समेत लगानी हुनु उपयुक्त हुने भन्दै यस्तो प्रस्ताव गरिएको उद्योग विभागका ती अधिकारीले बताए ।

- ADVERTISEMENT -

Advertisement

‘दूरसञ्चार सेवा प्रदायक संस्थामा २० प्रतिशत सेयर स्वामित्व नेपालीको हुनैपर्ने प्रावधान छ, क्यासिनोमा पनि १० प्रतिशत नेपालीको हुनुपर्छ, त्यसरी नै राइड सेयरिङमा ३० प्रतिशत नेपाली साझेदार राख्दा स्वदेशी व्यवसायी पनि फस्टाऊन् भनेर यस्तो व्यवस्था गरिएको हो,’ विभागका अधिकारीले भने, ‘अहिले शतप्रतिशत विदेशी लगानीमा सञ्चालनमा रहेका राइड सेयरिङ प्लाटफर्महरूले पनि आउँदा दिनमा यसबारे सोच्नैपर्छ ।’

कुल ४६ देशका ७४९ सहरमा २० करोड एप डाउनलोडमार्फत झन्डै एक अर्ब व्यक्तिलाई सेवा पुर्‍याएको दाबी गर्ने इनड्राइभले राइड सेयरिङसँगै कतिपय देशमा कुरियर, कार्गो र लामो दूरीका यातायात सेवासमेत प्रदान गर्दै आएको छ । नेपालमा राइड सेयरिङ उद्योगका रूपमा दर्ता गर्न लगभग एक वर्ष प्रयास गरेपछि इनड्राइभले अन्ततः आफ्नो अनौपचारिक सेवालाई कानुनी रूप दिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com