काठमाडौं, मंगलबार, १० जेठ २०७९ । सरकारले फेरि आफ्नै भूउपग्रह (स्याटेलाइट) र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै (स्याटेलाइट) राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ ।
नेपााल दूरसञ्चार प्राधिकरणले यसअघि अगाडि बढाइएका सबै प्रक्रिया रद्द गरेर स्याटेलाइट परियोजना ‘फ्रिज’ गरेर राखेको छ । सरकारले सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै २०७६ को असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । सरकारले एक फ्रान्सेली कम्पनीलाई दिने तयारी भए पनि अनियमितताको आरोप लागेपछि आयोजना अन्योलमा परेको थियो ।
अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए ।
दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजनहरु विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकोमा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।









































