काठमाडौं, पुस १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुले समयको आवश्यकता वोध गराउने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्र संस्थानको सहप्रकाशन दि राइजिङ नेपालको ५६ औं वार्षिकोत्सवका अवसरमा अयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले राइजिङ नेपाल ५६ वर्ष पार गर्दै गर्दा यसले समय गतिशील रहेको र सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व साँधुरिँदै गएको तथ्यलाई मनन गरी त्यस अनुरुप आफूलाई कहाँ उभ्याएका छौं भन्ने मनन गर्नुपर्ने बताउनुभयो ।
राइजिङ नेपाल ऐतिहासिक पत्रिका भएकाले यसलाई बदलिँदो अवस्था अनुसार कसरी सजीव बनाउने कसरी पठनीय बनाउने भन्ने बारे मनन गर्नुपर्ने बताउनुभयो ।
- ADVERTISEMENT -
उहाँले राइजिङ नेपाल सही सूचना दिने र समाजलाई प्रभावित गर्ने संस्थाको रुपमा विकास हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी दिनमा यसको आवश्यकता वोध गराउन हामी सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अहिलेको बदलिँदो अवस्थामा प्रमाणित समाचारहरु छिटो र सरल ढङ्गले सम्प्रेषण गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले राइजिङ नेपाललगायतका प्रकाशनका एप्सहरु सहज रुपमा खुल्ने बनाउन नेपाल टेलिकमलगायतका संस्थाहरुसँग समन्वय गर्नुपर्ने बताउँदै त्यसको सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।
उहाँले राइजिङ नेपालप्रति पाठकको विश्वासलाई कायम गर्न डिजिटल युगमा त्यस अनुसार परिवर्तन गरी समयको मागलाई पच्छाउन सकेनांै भने हाम्रो भविश्यबारे सोच्नुपर्ने बताउनुभयो ।
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले अहिलेको पत्रकारिता विगतको २४ घण्टाको डेटलाइनको पत्रकारिताबाट २४ सेकेण्डको डेटलाइनको पत्रकारिता भएकाले त्यसलाई हामीले पछ्याउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘अबको पत्रकारिता डिजिटल पत्रकारिताको युग हो । म आफू त्यसमा रमाएको व्यक्ति हुँ त्यसैले मैले गोरखापत्र संस्थानका प्रकाशनहरुलाई त्यही अनुसार सुधारका लागि कार्ययोजना बनाएर मन्त्रालयमा पेश गरेको छु र त्यसप्रति मन्त्रालयबाट सकारात्मक जवाफ पाएको छु ।’