काठमाडौँ, २९ मङ्सिर २०७८ । नेपाल टेलिकमले महजोडीका रूपमा परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सद्भावना दूतमा नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित एक कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्य र उहाँहरूको मिडिया संयोजक शुभ मिडिया होमका अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले कला क्षेत्रका दुई नक्षत्रलाई सद्भावना दूत नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो ।
कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा समयमै सुसूचित गराउन उहाँहरूको भूमिका सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सम्झौतापछि सद्भावना दूतद्वयले नेपाल टेलिकमका सेवाहरूको प्रचारात्मक कार्य, ब्रान्ड प्रवद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्य गर्नुहुनेछ । तत्कालका लागि एक वर्षको सम्झौता भएको कम्पनीले जनाएको छ ।
- ADVERTISEMENT -