प्रशंसा भट्टराई

थरीथरी फूलहरुलाई खेल्ने मैदान बनाई स्वतन्त्रतापूर्वक कहिले यता कहिले उता गर्दै उडिरहेका, आकाश छुने प्रयत्नमा हरबखत लागिपरेका ती रंगिविरंगी सुन्दर पुतलीहरु जस्तै हाम्रो बाल्यकालको समय, उमङ्ग र हर्षका साथ अझ ठूलो हुने आशामा बित्यो।

एउटा पुतली कहाँ एक्लै रमाउन सक्छ र? उसले पनि त आफ्नो साथी बनाएको हुन्छ। सँगै आकाश छुने कल्पना गरेका ती पुतलीहरुको मित्रता जस्तै अटुट मित्रता थियो उनी र मबीच पनि। अहिले लाग्छ, बाल्यकाल यति छिटो सकियो कि, राम्रोसँग महसुस गर्न नै पाइएन।

हामीबीचको मित्रता कस्तो र कति गहिरो थियो भने दुई जोड वस्तुको नाम लिन लगाइयो भने सबै साथीहरुले निशंकोच हामी दुईको नाउँ लिल्थे। करिब ८ वर्षको उमेर छँदासम्म हामीलाई हाँस्न, रुन, जित्न, हार्न न कुनै साधक चाहिन्थ्यो न त कुनै कारण नै।

एक दिन हामी टाढियौँ। त्यो दिन थियो, उनी घर सर्ने दिन। एकअर्कासँग आफ्नो मनका कुनै पनि कुरा लुकाउन नसक्ने हामीलाई समयले टाढा बनाउन खोजिरहेको थियो, तर दूरीले मित्रतामा असर पार्ने छैन भनी एकअर्कालाई बाचा गर्यौँ। त्यस दिनपछि हामीले आफूहरु सँगै हुँदा भएका कुरा, सबै घटना आफ्नो मनभित्र केलाउन थाल्यौँ। सायद यही नै चिनो हुँदो हो, हुर्कनुको।

मेरो हेराइ, बोलाइ, हिँडाइ र शरीरका एक एक अंग कति बेला रुपान्तरित भए, मैले पत्तै पाइनँ। पहिला घर बाहिरको पेटीमा नुहाउने म हुर्किन थालेपछि किशोरावस्थामा बाथरुमको ढोका लगाएर नुहाउने थालेँ।

किशोरावस्थाको आगमनसँगै मेरो जीवनमा धेरै कुरा परिवर्तन हुन थाले, मैले धेरै कुरा महसुस गर्न थालेँ।

अन्ततः किशोरावस्थाले त्यो दिन पनि ल्यायो, जुन दिनदेखि मेरो जीवन अर्कै भयो। मेरो जीवनले एउटा एकदमै घुमाउरो मोड लियो। मलाई त्यो दिन मितिसहित अहिले पनि याद छ।

त्यो दिन थियो, २०६९ साल मंसिर १६ गते। बिहानको मिर्मिरे घामको किरण मेरो बिस्तारामै पोखियो। जाडोयाममा ओछ्यानमै आइपुगेको घामले मलाई धेरै राहत दियो। घामको न्यायो ‘हग’ पाएपछि म त्यसै त्यसै पुलकित भएँ। बिस्ताराबाट उठेर कतै जाने मन भएन। तर, जानु त थियो नै।

मन नहुँदानहुँदै पनि बेडबाट झरेँ। झरेर बिग्रिएको सिरक पट्याएर बेडको एक छेउमा राख्नै लाग्दा मेरा आँखा तन्नामा लागेको रातो दागमा गएर फ्रिज भए। आँखासँगै मेरो दिमाग पनि फ्रिज भयो। मुटु उछिट्टिएर बाहिरै आउलाझैँ गरेर धड्किन थाल्यो। म छाँगाबाट खसेजस्ती भएँ।

आत्तिएकी म जोडजोडले आमा आमा भन्दै चिच्याउन थालेँ। मेरो चिच्याहाट सुनेपछि आमा वायु वेगमा आउनुभयो। म आत्तिएको देखेर उहाँ पनि आत्तिनुभयो। उहाँले के भयो भनेर सोध्नुभयो। मैले सीधै भन्न सकिनँ। आँखाको इसाराले उहाँलाई बिस्तारामा हेर्न भने।

हस्याङफस्याङ गर्दै आउनुभएकी आमा बिस्तारमा हेरेपछि भने जुन वेगमा आउनुभएको थियो, त्यही वेगमा शान्त हुनुभयो। उहाँ यसरी शान्त शान्त हुनुभयो मानौँ, केही भएकै छैन। उहाँले मलाई भन्नुभयो– अब तिमी केही दिन छुट्टै बस्नुपर्छ। अनि तिमीले केही दिन बुबा, भाइ र घामलाई हेर्नुहुन्न है।

यति भनेर उहाँ जानुभयो। आमा घनघोर आँधिबेहरीपछिको समुद्रजस्तै शान्त भएर जानुभयो, तर मेरो मनको समुद्र भने उस्तै थियो। बरु झन् अशान्त हुन थाल्यो। डर, कौतुहलता र बेचैनीको अनुभव एकैपल्ट हुन थाल्यो।

आमा किन शान्त भएर जानुभयो र उहाँले के भन्नुभएको हो भन्ने कुराको मैले भेउ पाइनँ। बरु मैले आफ्नो पेट अत्याधिक दुखिरहेको भेउ पाएँ। अब यस्तो अवस्थामा मैले के गर्नुपर्छ, यो परिस्थितिलाई कसरी सम्हाल्ने होला भनेर घोत्लिन थालेँ।

तर बिस्तारै आमाको निरन्तर सहयोगले ती विषम् दिनको सामना गर्न मलाई गाह्रो भएन। मैले बिस्तारै बेडमा रगतका टाटा देखिनुको कारणबारे पनि थाहा पाएँ। त्यो मेरो पहिलो महिनावारी रहेछ।

मलाई घरमा आमाले मैले बिस्तारै दुखाईको बानि बसाल्नुपर्ने भन्नुभयो भने स्कुलमा शिक्षिकाले महिनावारी प्राकृतिक भएकाले यसलाई सामन्य रुपमा लिन भन्नुभयो।

सबैले महिनावारी सामान्य हो भनेर सम्झाए, तर कसैले यसमा मेरो केही दोष छैन भनेर सम्झाएनन्। म यसमा आफ्नो दोष देख्न थालेकी थिएँ। त्यसैले, मैले सहिरहेँ महिनावारीको बेला निम्तिने त्यो असह्य पीडालाई।

महिनावारी हुँदा मेरो पेट मात्र दुख्दैन्थ्यो, शरीर र टाउको पनि दुख्थ्यो, चक्कर पनि आउँथ्यो। जुन पेट दुख्नुजस्तो सामान्य र स्वभाविक होइन रहेछ। यो कुरा मैले धेरैपछि थाहा पाएँ। धेरैपछिसम्म थाहा नपाएकै कारण धेरै पीडा पाएँ मैले।

पीडाकै कारण म कहिले स्कुल जान सकिनँ, जवरजस्ती स्कुल गए पनि होमवर्क गर्न सकिनँ, साथीहरुसँग मन खोलेर खेल्न सकिनँ, आदिआदि। धेरै सोच्थेँ, मलाई यस्तो किन भइरहेछ? तर, जबाफ पाउँदिनँथिएँ। अरुसँग सोध्दा उनीहरु यसलाई सामान्य रुपमा लिएर सामान्य हो भनिदिन्थे। त्यसपछि मसँग चुपचाप सहनुको विकल्प हुँदैन्थ्यो। त्यसैले सहिरहेँ, यसलाई नियति सम्झेर, यही सहन छोरी मान्छे भएर जन्मिएकी हुँ भनेर।

यही हुन्छ होइन, हामी अधिकांश महिलाहरुसँग? हो, मैले पनि यो असाधारण दुखाइलाई सामन्य रूपमा लिइसकेकी थिएँ। सायद तपाईंले पनि यसलाई आफ्नो नियति सम्झेर सामान्य मान्दै हुनुहुन्छ होला। तर, यो स्वभाविक, सामान्य वा नियति केही होइन। बरु अस्वभाविक हो, असामान्य हो। मैले यो कुरा एक दिन मेरी उनै बालसखाबाट थाहा पाएँ।

म एक दिन उनको घरमा बस्न जाँदा मैले उनलाई औषधि लिइरहेको देखेँ। मेरो मनमा उनी यो केको औषधि लिइरहेकी होलिन् भनेर जिज्ञासा उत्पन्न भयो। जिज्ञासा निवारण गर्न मैले सोधिहालेँ। त्यसपछि उनले सबै बेलिबेस्तार लगाइन्।

महिनावारी हुँदा असैह्य पीडा हुन थालेपछि ऊ डाक्टरलाई भेट्न गइछन्। चेकजाँच पछि उनलाई डाक्टरले यो महिनावारीमा हुने स्वभाविक पीडा नभएको बताएछन् र यो औषधि खान सुझाएछन्।

उनलाई डाक्टरले भनेछन्– महिनावारी हुँदा पेट दुख्नु सामान्य हो, तर चक्कर आउनु, टाउको दुख्नु, शरीर दुख्नुजस्ता लक्षणहरु भने सामान्य होइनन्। यसलाई डिसमेनोरिया भनिन्छ। उनले लिइरहेको औषधि डिसमेनोरियाको ।

०७८ साल कात्तिक ८ गते सोमबार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्