काठमाडौँ, बिहिबार, २० जेठ २०७८ । नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारी जानकारी दिनुभयो ।
चौथो पुस्ताको फोरजी/एलटीई प्रविधिमा आधारित कम्पनीको यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् । साथै कलमै आधारित भिडियो कल गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ ।
गत जेठ ३ गते टेलिकमले भीओएलटीई सेवाको परीक्षण सुरुवात गरेको थियो । त्यतिबेला निश्चित ब्रान्डका सीमित मोडलमा मात्र उपलब्ध यो सुविधा क्रमशः अहिले अन्य मोडलमा पनि विस्तारित हुँदै गएको कम्पनीले जनाएको छ ।









































