काठमाडौँ, २७ बैशाख २०७७ । बिश्वमै आतंक मच्चाएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालको अर्थतन्त्र र सामजिक अबस्थामा कस्तो प्रभाव पार्ला भनी अनुमान गर्न अहिले पनि गारो छ । लकडाउनमा नेपाल गएको दुई महिना पुग्न १५ दिन मात्र बाँकी छ ।
अझै सहज अबस्था आउन कति महिना लाग्ने हो भन्न सकिने अवस्था छैन । लकडाउन (बन्दाबन्दी) लाई हामी नेपालीहरुले सकारात्मक रुपमा सदुपयोग गर्न सक्यौं भने हाम्रा लागि यो बरदान सावित हुन पनि सक्छ आत्मनिर्भरताका लागि । मेरो गृह जिल्ला सुनसरीको कुल जमिन १ लाख २६ हजार ५ सय हेक्टरमध्ये ५७ हजार २ सय हेक्टरमा खेती गर्दा ८७ हजार ७ सय मे।टन खाद्यान्न उत्पादन हुन्थ्यो आजभन्दा ४८ वर्षअघिसम्म ।
२०२८ सालको कृषि तथ्यांक अनुसार बीऊ–बिजन तथा कुटानी पिसानी गर्दा बचत हुन आउने ४८ हजार ५ सय मे।टनले २०२८ सालको जनगणना अनुसार २ लाख २३ हजार ४३४ जनसंख्यालाई खान पुगेर करिव ९ मे।टन चामल बेचिन्थ्यो । २०६८ को जनगणना अनुसार सुनसरीको जनसंख्या ७ लाख ५३ हजार ३२८ पुगिसकेको छ । जनसंख्याको बृद्धिसँगै खेती योग्य जमीन घरहरुले ढाक्ने अवस्थामा पुगेको छ । अधिकांश तराई तथा पहाडी जिल्लाको अबस्था योभन्दा भिन्न छैन । उतिवेला जनतालाई अनेक प्रकारको दुःख थियो भन्न सकिएला तर खाद्यन्नमा आफैं आत्म निर्भर थियो देश । अहिले अर्बौंको खाद्यान्न विदेशबाट आयात गर्छौं हामी नेपाली ।
उतिबेला सुनसरीको आम्दानीको प्रमुख स्रोत सनपाट थियो । सुनसरीबाट अन्य जिल्लामा सनपाट, चामल, काठ, आलु, जूटकटिं, तेलहन, राँगो–भैसी, छाला, खसीबोका,गाईगोरु, खुर्सानी आदि थिए । सामाजिक क्रान्ति र परिवर्तन एकै दिन वा रातारात हुने कुरा होइन, त्यसका लागि दीर्घकालिन योजना ल्याउनु पर्छ । नेपालको कुल जनसंख्या करिव ३ करोडलाई आधार मान्ने हो भने १ करोड जनसंख्या नेपाल बाहिर विभिन्न मुलुकमा छरिएर बसेका छन् । त्यसमध्ये पहिलो चरणमा खाडी मुलुक र मलेसियालगायतमा श्रम गर्न गएका नेपाली स्वदेश फर्कन सक्छन् । उनीहरुलाई समेत समेटेर आर्थिक योजनाहरु ल्याउन सरकारले ढिला गर्नै हुन्न भन्ने यो लेखकको अभिमत छ ।
तथ्य र तथ्यांकको आधारमा योजना बनाइयो भने मात्र कार्यान्वयनमा आउने हो । अन्यथा अकस्मात आउने सामाजिक परिवर्तन दिगो हुन सक्दैन । त्यस्तो परिवर्तनले कैयन दुष्परिणाम ल्याउँछ भन्ने उदाहरण हाम्रै देशको हिंसात्मक आन्दोलनलाई हेर्दा हुन्छ । शान्तिपूर्ण क्रान्तिले मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने हाम्रै देशको अनुभवले पटक–पटक देखाइरहेको छ । कोभिड–१९ले बिश्वका शक्तिशाली रास्ट्रहरुलाई पनि हार खुवाउदै विज्ञानलाई नै चुनौती दिइरहेको छ । आज बिश्व जगत शोकमा डुबिरहेको छ ।
भनिन्छ , कुनै पनि ठाउँको बिकास हुनलाई बिनास नभइ हुँदैन या हरेक समस्याले कुनै पनि देश तथा समाजको व्यवस्थालाई जरैदेखि खलबल्याउँछ र मानिसलाई विशेष ज्ञान दिएर जान्छ । अहिले विश्वलाई नै त्रसित बनाइरहेको कोभिड–१९ ले पनि त्यसरी नै विश्व व्यवस्थामा आमूल परिवर्तन ल्याउन सक्ने आकलन गरिएको छ । अन्तर्रा्ष्ट्रिय श्रम संगठनले हालै प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार कोभिड–१९ महामारीका कारण बिश्वभर २५ करोड मानिसले रोजगारी गुमाउनेछन् ।
विश्वका विभिन्न देशमा श्रमिकका रूपमा कार्यरत झन्डै ६५ लाख नेपाली पनि यसबाट प्रभावित हुने छन् । उनीहरूको रोजगारी जोखिममा परेको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसिया तथा कतारलगायत खाडी मुलुकका उद्योगधन्दा धमाधम बन्द हुँदै गएका छन् र त्यहाँ कार्यरत श्रमिक बेरोजगार बन्दै छन् । देशको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान दिने विपे्रषण आय नेपाली ग्रामीण अर्थतन्त्रको प्राण बनेको झन्डै दुई दशक भइसकेको छ । र, यो महामारीको सबैभन्दा जबर्जस्त प्रभाव यी वैदेशिक रोजगारीमा आश्रित परिवारमा पर्ने देखिन्छ ।
पीडाले कुनै न कुनै रुपमा खुशी जन्माएकै हुन्छ । प्रसव पीडाबाट एउटी महिला ममतामयी आमा बन्छिन्, एउटी स्रष्टा बन्छिन् । एउटा नयाँ सृष्टि हुन्छ । अहिले बिश्व मानव सभ्यता त्रासमा छ, अन्योलमा छ । किंकर्तव्य विमुख अवस्थामा छ । यो स्वभाविक पनि हो, अकल्पनीय परिस्थिति भोग्नु परिरहेको छ अहिले । यो अवस्थाको आयु कतिसम्म हो भन्ने पनि अहिलेसम्म कसैलाई पनि जानकारी छैन । अर्को भाषामा भन्दा विज्ञान नै अनभिज्ञ छ ।
सृष्टिमा यस्ता त्रासदिपूर्ण घुम्तीहरु आएका इतिहासहरु धेरै छन् । मानव सभ्यता भनांै यो सृष्टि अकन्टक छैन । यो बिपत्ति मानवजन्य हो या प्राकृतिक विज्ञान नै द्विविधामा छ । जे सुकै भएपनि मानव जातिका लागि यो एउटा महासंकट हो । यो संकटको सामना गर्न पनि ठूलो तयारी आबस्याक छ । धैर्य एवम् आत्मवल नै यसको अचुक औषधी हो ।
विज्ञान तथा प्रबिधीको उपयोगभन्दा पनि हामी अति विलासी र दुरुपयोगमा चुर्लुम्म डुब्न पुग्यांै कि भन्ने लाग्छ मलाई । हामीले प्रकृतिलाई अधिक दोहन गर्यौं कि, प्रकृतिसँग टाढियौं कि ? हाम्रो शरीर एवं चेतना नै प्राकृतिक हो भन्ने कुरा भुसुक्कै बिर्सियौं कि ? प्रकृति र मानवजन्य प्रबधिलाइ सन्तुलन गर्दै अघि बढ्नु पर्नेमा प्रबिधिको क्षण भंगुर आशक्तिमा मात्रै निर्लिप्त भयांै हामी । यो ब्यवहारले सिमा नाघेकै कारण हाम्रो गलत यात्रालाई सुधार गर्नकै लागि भएपनि वर्तमान अवस्थाको सिर्जना भएको सम्झेर हामीले सदुपयोग गर्नु पर्छ । हामीले प्रबिधि र प्रकृतिबीच सन्तुलन कायम गरी जीवनलाई निरापद बनाउने अवसरका रुपमा पनि उपयोग गर्न सक्नु पर्छ । फेरि आधार अथवा जरोतर्फ फर्किएर त्यही आधारमा प्रबधिको प्रयोग गर्दै अगाडि बढ्नुको हामीसँग अर्को विकल्प पनि छैन ।
घरमा भकारी भरी धान, जौ, कुन्युका कुन्यु मकै, बाहिर पट्टी हिउँदभरी तरकारी खानको लागि पिंडालुको खोल्मा , हिउँदभरी बस्तुभाउलाई खुवाउन पहाड जत्रो परालको कुन्यु, मुरीका मुरी मास, भटमास, बोडीलगायतका गेडागुडीहरु जोहो गरेर बस्ने हाम्रो परम्परालाई खिसी गर्न थाल्यांै हामीले नै । खेती गर्ने जमीन पाखोमा परिणत बने, अनपढ अयोग्यहरुले मात्र खेती गर्ने सोच बनाउन थालियो । आफ्नै श्रम र पसिनाले उब्जाएको उब्जनी खानेहरु गरीव वर्गमा पर्न थालेको वर्षांै भइसकेको छ । कुहिएको गुणस्तरहीन खाद्य सामाग्री किनेर खानेहरु नै सभ्य कहलिन थालेपछि आप्mनै पौरखप्रति अनास्था जाग्न थाल्यो । दरिद्र संस्कारले मानव जीवन तासको घरजस्तो बन्न थालेको ५ दशक नाघेको छैन । अब हामीले हाम्रै पुर्खौली व्यवसायलाई समयानुकूल आधुनिकीकरण गर्ने, गुरुकुल शिक्षालाई आधुनिकीकरण गर्दै आय आर्जनको मुख्य श्रोत बनाउनु पर्नेमा हामी पश्चिमा विस्तावादी नीतिबाट प्रभावित भयौं ।
आफ्नो पोल्टामा भएको कुरा छोडेर भूइको टिप्न खोजिरहेको छौं । त्यसो गर्दा पोल्टाको पनि पोखिन्छ र भूइको पनि टिप्न नसकिएको अवस्था हो अहिले हाम्रो । नेपालको सन्दर्भमा महामारीले वर्ग निर्माणमा मलजल गरेको छ । राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध भएका सीमित माथिल्लो स्तरका व्यापारी, केही राजनीतिकर्मी तथा बिचौलियालाई महामारी कमाइ गर्ने ठूलो अवसर बनेको छ । विशेष गरी दैनिक मजदुरी गरेर गुजारा चलाउने श्रमिक वर्ग भने पीडित नै छ । दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुलाई रोग संक्रमणको जोखिम त छँदैछ, त्योभन्दा पनि उनीहरूका लागि भोक भयावह बनेर आएको देखिन्छ । हालसम्म कोरोना भाइरस संक्रमण विश्वका अन्य देशको तुलनामा नेपालको अवस्था त्यति भयावह देखिँदैन । लकडाउनले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेझै लाग्छ मलाई ।
बिश्व महामारीले सिर्जना गरेको कठिन परिस्थितिले देश विकासका लागि उत्कृष्ट मार्गनिर्देश गर्न सक्ने ठूलै सम्भावना छ तर सरकारले समयको सदुपयोग गर्दै कामप्रति सम्मान,समर्पण र भावि योजना ल्याउन सक्नुपर्छ । एकातीर देशभित्र बाँझो रहेका हजारौँ हेक्टर जमिन खेर गइरहेको छ भने अर्कोतीर लकडाउनकैबीच भारतबाट अर्बौंका खाद्यान्न, तरकारी तथा फलफूल आयात गरिएकोे छ । यो समय मानव सभ्याताकै लागि चुनौती हो भन्ने कुरा हामी नेपालीले अझैं महशुस गर्न सकेका छैनौं । त्यसैले देश केन्द्रीत रहेर स्थानीयदेखि केन्द्रसम्मका सरकारहरुले जनतालाई सचेत बनाउँदै आत्मनिर्भर बनाउने योजना ल्याउन सक्नु पर्छ ।
(लेखक घिमिरे महिला उद्यमी हुन्)









































