- ADVERTISEMENT -

कोरोनाभन्दा राज्य खतरनाक !

April 4, 2020
633
Shares
- ADVERTISEMENT -

मोदनाथ खनाल

काठमाडौं, २२ चैत २०७६ । यतिबेला विभिन्न प्रकारका व्यापारिक कम्पनी वा उद्योग धन्दाका कर्पोरेट हाउसहरूलाई कोरोना भाइरस नियन्त्रण गर्न या यसबाट बाँच्नको लागि आवश्यक सामग्री बनाउन प्रेरित गर्नुपर्ने बेला हो ।

- ADVERTISEMENT -

Advertisement

त्यसो गर्न सकेको भए अहिले पिपिई लागायतका औषधीहरू नभएर यस्तो हाहाकार मच्चिने थिएन । उदाहरणको लागि क्यानडाको ओन्तारियोमा एउटा टायर बनाउँने कम्पनीले पीपिई बनाउन सुरु गरेको छ ।

राज्य चाहिने यस्तै दुःखको बेलामा हो । अरु बेला त जनता आफैं गरीखान्छन् । सामान्य अवस्थामा राज्यले जनतासँग करका माध्यमबाट लिने हो र यस्तै विषम परिस्थितिमा त्यो कोष जनताको संरक्षण, एवम् जीवन रक्षाका लागि उपयोग गर्ने हो । अहिले विश्वभरीका सरकारहरू जनताप्रति आफ्नो सामर्थ्य अनुसार उत्तरदायी भइरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल सरकार मात्रै किन यति अनुत्तरदायी, अमानवीय, स्वार्थी एवं क्रूर देखिएको छ ? सडकमा हिँड्ने जनतालाई लाठी हान्नुभन्दा उनीहरूको दैनिक गुजाराको लागि के गर्ने र हरेक दिन काम गरेर मात्रै खान सक्ने जनतालाई भोकै मर्न नदिन कस्तो योजना ल्याउने भन्नेतिर सोच्नुपर्ने होइन र ? राज्यले म कमजोर छु, जनतालाई अप्ठेरो पर्दा म सहयोग गर्न सक्दिन भन्नै मिल्दैन । राज्य कसरी कमजोर भयो र ? सम्पूर्ण शक्तिका साथ झण्डै दुई तिहाई बहुमतको सरकार छ ।

कुनै पनि राज्य वा देश आफैंमा गरीव एवं कमजोर हुँदैन । कमजोर हुने कुशासन कै कारण हो । कुशासन जनताले गर्दा हुने होइन । नेपाल प्राकृतिक रूपमा विश्वमै सुन्दर छ, उर्वरा भूमी छ । केही भुइँफुट्टा बाहेक बाँकी जनता मेहनती छन् । वातावरण उत्कृष्ट छ । पानीको श्रोत यथेष्ट छ । यी श्रोतको उपयोग गरेर आर्थिक सम्वृद्धि हासिल गर्ने त राज्यले हो नि। देश गरीव किन भएको रहेछ भन्ने कुरा त यस्तो विषम परिस्थितिमा पनि निर्लज्जतापूर्वक भ्रष्टाचार गर्ने संस्कार नै मुख्य कारण हो । यस्तो बेलामा त यतिसम्म भ्रष्टाचार हुन्छ भने सहज अवस्थामा कति भ्रष्टाचार हुने रहेछ भन्ने कुरा यसै अनुमान लगाउन सकिन्छ ।

खासगरी दिनभर काम गरेर बेलुका खानुपर्ने जनताका लागि राज्यले नसोचे कसले सोच्ने ? राज्यको दायित्व चाहिँ के हो त ? किन चाहिन्छ राज्य ? राज्यले हामी गरीव छौं, हामीसँग पैसा छैन भनेर सुख पाउँछ ? पैसा किन नभएको त ? एनसेलबाट लिनुपर्ने अर्बौँ कर किन असूल नगरेको त ? राष्ट्रपतिलाई अर्बभन्दा बढीको हेलीकप्टर किन किनेको ? कर छली गरी अकूत सम्पति कमाएका तश्करहरूलाई किन कारबाही गरी कर नउठाएको ? कूल गार्हस्थ उत्पादन वृद्धि गर्ने गरी किन कुनैपनि योजना आजसम्म नल्याएको त ? अधिकाँश नेता, कार्यकर्ता, कर्मचारीहरू भ्रष्टाचारमा लिप्त भएको थाहा पाउँदा पाउँदै पनि किन आँखा चिम्लिएको ? आफुलाई मनपरेको या विगतमा तथा वर्तमानमा नै पनि आफ्नो स्वार्थ पूरा गरिदिने यति समूहलाई झण्डै सित्तै जस्तोमा सरकारी सम्पती किन सुम्पिएको ? धमिजा काण्डदेखि लाउडा, वाइड बडी काण्डसम्म, कोशी सम्झौतादेखि महाकाली सम्झौतासम्म नेपालको हितमा भन्दा अर्काकै हितमा किन काम गरेको ? आफु सत्तामा गएर ब्रह्मलुट गर्न पाईन भनेर आफ्नै जनताको ज्यान लिनपछि नपर्ने नरसंहारकारी हिंसात्मक आन्दोलन गरेर देशलाई कमसेकम दुई दशक पछाडि किन धकेलेको ? प्रजातन्त्रको अभ्यास गर्ने क्रममा पजेरो काण्ड, सांसद खरिदविक्री काण्ड जस्ता अप्रजातान्त्रिक क्रियाकलापको अभ्यास किन गरेको ?

यस्ता सयौं काण्डहरु छन् । जसलेगर्दा नेपाल गरीव भएको हो, गरीब बनाइएको हो । क्यानडा सरकारले हरेक सानातिना उद्योगहरू, जस्तै हेयर सैलुन, साना ग्रोसरी स्टोर जस्ता कम्पनीहरूलाई पच्चीस हजार क्यानेडियन डलरका दरले सहयोग गरेको छ । जागिर भएर पनि यो संकटका कारण जागिर गाएकाहरूलाई रोजगारी बीमा गराइदिएको छ भने जो बेरोजगार छन्, उनीहरूलाई प्रति महिना दुईहजार क्यानेडियन डलर उपलब्ध गराएको छ ।

हरेक रोजगारदाता कम्पनीहरूलाई ढाढस दिंदै कोहीपनि आफ्नो स्टाफलाई आर्थिक अभावका कारण जागिरबाट ननिकाल्नू भन्दै कम्पनीलाई अप्ठेरो पर्योभने राज्य छ भनेर भरोसा दिएका छन् । कतिपय प्रोभिन्समा यातायात सबै छूट गरिएको छ । पहिलाभन्दा सार्वजनिक यातायात दोब्बर बनाइएको छ । पचास सिटभन्दा बढी क्षमता भएका सवारीसाधनमा दुइ तीनजना मात्रै प्यासेन्जर हुन्छन् । संक्रमणबाट जोगाउन एउटै बसमा धेरै मानिस यात्रा नगराउने नीति हो यो ।

यो एउटा साधारण उदाहरण मात्रै हो । सबै राज्यले यही शैलीबाट काम गर्नुपर्छ भन्ने पनि होइन । आफ्नै तरिका भएपनि जनताले सुविधा पाउनुपर्छ । जनकल्याण चाहिँ सबै राज्यको साझा एजेण्डा हो । सरकारमा लुट्न, कमाउन वा कुबेर बन्न जाने होइन । नेपालमा सधैं यस्तै भइरहेको छ । राणाहरूले लुटे, शाहहरूले लुटे, अहिले दलहरू लुट्दैछन् । दलहरूले त अरूले भन्दा कयौं गुणा लुटे । देश नै थलापर्ने गरी लुटे ।

यसमा हामी नेपाली जनताको पनि दोष छ । आफ्नै दाजुभाइ दिदीबहिनीको ज्यान लिने हिंसात्मक आन्दोलनका नायकहरुलाई उसले थाम्नै नसक्ने गरी माला लगाइदिने नेपाली जनता नै हुन् । लडाकुको नाममा अरबौं लुटेको कुरा जिम्मेवार नेताबाटै खुलासा हुँदा पनि जनता चुपचाप किन ?

अनि हरेक काण्डमा पैसाको चलखेल नगरी नछोड्ने र प्रतिपक्षी दलको नेता भएर पनि सत्तासँग मिलेर लुट्ने खलनायकलाई नायक भनेर सभापति र संसदीय दलको नेता बनाउने कांग्रेसीहरू पनि जनताकै अंश हुन । अहिले जस्तो सम्वेदनशील घडीमा समेत भ्रष्टाचार गर्ने यतिसम्म गिरेको क्रियाकलापलाई समेत समर्थन गर्ने भजनमण्डली पनि जनता नै हुन् । अब यस्तो परिस्थिति हामी नेपालीले सधैं भेगीरहेका छौं । त्यसैले पशुपतिनाथले हामी सबैको कल्याण गरुन भन्नु बाहेक अरु कुनै विकल्प बाँकी रहेन !

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -