कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्व त्रासमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ३० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । ६ लाख ५० हजार व्यक्ति संक्रमित भइसकेका छन् । यस्तै, अमेरिकामा हालसम्म २ हजार जनाको ज्यान गइसकेको छ भने १ लाख २० हजार संक्रमित छन् । दैनिक संक्रमितको संख्या बढ्दै जाँदा अहिले अमेरिका नै ‘इपिसेन्टर’ झँै छ । भाइरसका कारण अमेरिकामा करिब ३० जनाभन्दा बढी गैरआवासीय नेपालीमा संक्रमण भएको हुन सक्ने जनाइएको छ ।
नेपालीमा संक्रमण बढ्दै गए पनि सूचना गोप्य राख्ने गरेका कारण यकिन तथ्यांक बाहिर आएको छैन । अमेरिकाको न्युयोर्कमा नेपालीहरू संयुक्त रूपमा कोठामा मिलेर बस्ने गरेका कारण पनि संक्रमण फैलिएको हुन सक्ने जनाइएको छ । यसै सन्दर्भमा अमेरिकामा चिकित्सा पेसामा रहेका एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष एवं चिकित्सक डा. केशव पौडेलसँग को कुराकानी :
कोभिड १९ को असर कस्तो हुन्छ, के यो रोग लागेमा मानिसको कसरी मृत्यु हुन्छ ?
हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता हुन्छ, त्यही क्षमताका आधारमा व्यक्तिलाई भाइरसले आक्रमण गरे पनि मानिस बिरामी हुँदैन । त्यो भनेको धेरै रोग हामीले थाहै नपाई निको हुन्छ । हामी बिरामी हुने या कुनै रोग लाग्ने भनेको हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता कम हुनु मुख्य कारण हो । अहिले कोभिड १९ का कारण जति पनि मानिसको मृत्यु भएको छ, उहाँहरूमा पहिलेदेखि नै अन्य रोग हुनुको कारण हुन सक्छ । यो रोग लागिहाल्यो भने मानिसको मृत्यु हुने सम्भावना ९० प्रतिशत कम हुन्छ । अन्य फ्लु भन्दा यो खतरनाक भएका कारण मानिस बिरामी परेको र मृत्यु भएको अवस्था छ । त्यसैले फ्लुका कारण मानिसको मृत्यु हुन्छ भन्ने होइन । हालसम्म हामीलाई धेरै पटक रुघाखोकी लागेको छ, त्यो पनि एउटा भाइरस हो तर कोरोनाले सीधै फोक्सोमा असर गर्छ, अनि निमोनिया हुन्छ र अक्सिजन नपुगेर मानिसको मृत्यु हुन्छ । मृत्यु हुनुपूर्व मानिसको अनुहार र ओठ नीलो भएको हामीले देखेका छौं । त्यो भनेको शरीरमा अक्सिजन नपुगेर हो, हो त्यसैगरी यो भाइरसले आक्रमण गरेपछि मानिसलाई श्वास फेर्न निकै कठिन हुन्छ अनि मृत्यु हुने गर्छ ।
ज्वरो आयो भने कोरोना लाग्यो भन्ने सुनिन्छ, त्यही हो ?
होइन, ज्वरो आउँदैमा कोरोना लागेको भन्ने हुँदैन । तपार्इंलाई सुरुमा यसले घाँटीमा समस्या देखाउँछ अनि ज्वरो आउँछ । त्यसपछि तपाईंलाई रुघाखोकी पनि लाग्न सक्छ । उच्च ज्वरो आयो र रुघाखोकी लाग्यो भन्दैमा कोरोना भयो भन्ने हुँदैन । तर, तपाईंलाई शंका लाग्छ भने तुरुन्तै अस्पताल जानु पर्छ । आशंका भए सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ ।
त्यसोभए सेल्फ क्वारेन्टाइनबारे बताइदिनुस् न त ?
कोरोना भएको कुनै लक्षण देखियो भने अहिलेको परिस्थितिमा तुरुन्तै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । त्यही एकान्त अर्थात् एक्लै बस्ने प्रक्रिया भनौँ या त्यही बसाइलाई सेल्फ क्वारेन्टाइन भनिन्छ । यदि, तपाईंलाई यो रोग लागेको केही लक्षण देखियो भने सम्भव भए एक्लै बस्नुस् अनि आफूलाई सुरक्षित राख्नुस् । तपाईं आफू त्यसरी क्वारेन्टाइनमा बस्नाले तपाईंसँगै अर्को व्यक्तिलाई पनि सुरक्षित राख्नुहुनेछ । त्यो भनेको तपाईंको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण तपार्इं यो रोगसँग लड्न सक्नुहुन्छ तर प्रतिरोधात्मक क्षमता कम भएका, धेरै उमेर भएका कुनै औषधि प्रयोग गरिरहेका व्यक्तिलाई तपार्इंले भाइरस सार्नुभयो भने त्यस्ता व्यक्तिको मृत्यु पनि हुन सक्छ । यसर्थ सम्भव छ भने एउटा कोठामा बस्नु, नत्र दुई÷चार हात पर रहेर घरमै बस्नुस् । हाछ्युँ गर्दा तपाईंको हाछ्युँको छिटा अरूलाई नपर्ने गरी बस्नुस् । तपाईंलाई थप असहज हुँदै गयो भने अस्पताल जानुहोस् । अस्पताल जाँदा तपाईंले हातमा पञ्जा र मुखमा मास्क लगाउनुस् अनि अस्पताल पुगेपछि पनि अन्य व्यक्तिसँगको केही दूरीमा बस्नुहोस् ।
० घरमा बस्दा के–के ख्याल गर्नुपर्छ ?
घरमा बस्दा प्रोटिन र भिटामिन सी भएको खाना खानुपर्छ । तातो चिज खाने, प्रशस्त पानी पिउने साथै व्यायाम गर्न जरुरी हुन्छ ।
कोरोनाबाट जोगिन के गर्नुपर्ला ?
यसको औषधि पत्ता लगाउनका लागि प्रयास भइरहेका छन् । तर, आजको भोलि औषधि पत्ता लाग्ने सम्भावना निकै कम छ । यसैले अहिले घरमै बस्नु अचुक उपाय हो । पहिलो औषधि नै त्यही हो । त्यो भनेको तपार्इं संक्रमित हुनबाट जोगिनु हो भने अरूलाई पनि यो भाइरसबाट बच्न सहयोग गर्नु हो । यो भाइरसको भ्याक्सिन बन्न अझै ६ महिनादेखि १ वर्ष लाग्छ । यसैले घरमै बसौं, सही सूचना आदानप्रदान गरौं । नआत्तिऔं, नअत्याऔं ।
मास्क, पञ्जालगायतको प्रयोग कसरी गर्ने ?
यदि, तपाईं घरमै हुनुहुन्छ र अन्य व्यक्तिसँग सम्पर्कमा जानुहुन्न भने एक पटक प्रयोग गरेको मास्क पुनः प्रयोग गर्न मिल्छ । तर, सार्वजनिक रूपमा हिँडडुल गर्नुहुन्छ भने तपाईंले एक पटक प्रयोग गरेको मास्क अर्को पटक प्रयोग गर्नुहुन्न । मास्कलाई अर्कोपट्टि फर्काएर लगाउने गरेको पाइन्छ, त्यो झन् सबैभन्दा खतरा हो । अनि तपाईं घरबाहिर निस्कनुहुन्छ भने हातमा पञ्जा लगाएर निस्कनुस् । कुनै पनि चिज छोएपछि या कुनै काम गरेपछि आँखा, नाक र मुखमा सीधै हात नलैजानुस् । यसो गर्दा तपाईं यो रोगबाट बच्न सक्नुहुन्छ । मास्क धोएर लगाउनु हुँदैन । पञ्जा भने धुन मिल्छ ।
बच्चालाई यसबाट कसरी जोगाउन सकिन्छ ?
सामान्यतया बच्चालाई यो भाइरस सर्दैन । यो भाइरसले पाको उमेरका व्यक्तिलाई बढी असर गरेको छ । त्यो भनेको रोग प्रतिरोधात्मक क्षमता कम हुनु नै मुख्य कारण हो । कोरोनाले हालसम्म बालबालिकालाई असर गरेको देखिएको छैन । यसको मतलव बालबालिकालाई यो रोग नै लाग्दैन भन्नेचाहिँ होइन । हामीले बालबालिकालाई संक्रमित व्यक्तिको नजिक नलैजाऔं । बच्चालाई धेरै व्यक्तिले लिने काम पनि नगरौं ।
एक पटक उपचार गरेको व्यक्तिलाई फेरि लाग्ने सम्भावना कत्तिको हुन्छ ?
यो रोग लागेर १४ दिनसम्म आइसोलेसनमा बसेको व्यक्तिले अर्को व्यक्तिलाई सार्ने सम्भावना निकै कम हुन्छ तर जोगिनु भने पर्छ । भाइरस लागेको व्यक्ति ३÷४ हप्तासम्म आइसोलेसनमा बस्नुपर्ने भन्ने मैले पनि सुनेको छु । अहिलेसम्मको प्राक्टिस हेर्दा १४ दिनभन्दा बढी बस्नु पर्दैन । यो भाइरस लागेर १४ दिनसम्म आइसोलेसनमा बसिसकेपछि फेरि आइसोलेसनमा बस्नु पर्दैन । सामान्यतः एक पटक लागेको मान्छेलाई यो रोग अर्को पटक लागेको देखिन्न । त्यो भनेको सम्बन्धित व्यक्तिले रोग प्रतिरोधात्मक क्षमता विकसित गरिसकेको हुन्छ । कसै–कसैलाई कुनै लक्षण नदेखिएर पनि कोरोना भाइरस निको भएको हुन सक्छ । अन्नपुर्ण पोस्टको साथमा









































