काठमाडौं, १५ माघ २०७६ । कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले आयोजना गर्ने सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण आगामी फागुनको २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ । यस संस्करणको टाइटल स्पोन्सर प्रभु पे रहेको छ । प्रदर्शनीका ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताएका छन् ।
क्यान इन्फोटेक २०२० को एशोसिएट स्पोन्सरमा वल्र्ड्लिंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेशन्स रहेको छ । त्यसैगरी, स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्ट्रिब्युशन गोल्ड स्पोन्सर रहेका छन् भने जेनेस सोल्युशन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् ।
ब्रेन डिजिट आईटी सोल्युशन क्यान इन्फोटेक २०२० को डिजिटल पार्टनर रहेको छ । त्यसैगरी क्रियटिभ पार्टनरमा आरआर श्री स्कुल अफ टेक्नोलोजी, गेमिङ्ग पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स, रिसर्च पार्टनर सी।यस।आर, अफिसियल ट्राभल पार्टनर बिएन होलिडेज छ ।
प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिब्युटर्स एशोसिएशन, एशोसियसन अफ इन्जिनियरिङ्ग कलेज सहयोग गरेका छन् । त्यसैगरि अन्तराष्ट्रिय संस्था असोसियो र विट्सा को पनि यसको आयोजनामा सहयोग रहेको छ ।
यस पटकको क्यान इन्फोटेकको बिशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया को प्रदर्शनी गर्ने छन् । क्यान महासंघले यसका निम्ति सार्वजनिक सुचना निकालेरै स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेको छ ।
प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले इन्नोभेशन एक्स्पोजर लाई बिशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यबहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।
क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिहरुले इन्फोटेक प्रवेशमा लाग्ने समयको वचत गर्न सक्नेछन् ।
प्रदर्शनीमा प्रभु पे, वर्ल्डलिंक र भायानेटले बिशेष आकर्षक योजनाहरु सार्बजनिक गर्दै छन भने एनसेल ले आकर्षक प्याकेज सहित निशुल्क सिमकार्ड र सुबिधाहरु उपलब्ध गराउने छ । स्मार्ट सेलले ९९ रुपैया पर्ने सिम कार्ड र त्यसमा ९० रुपैयाको रिचार्ज, २०० एमबी डाटा, १० वोटा एस।एम।यस निशुल्क उपलब्ध गराउने छ ।









































