२०८३ जेठ ३, आइतबार
५:४६:२७ बेलुका
- ADVERTISEMENT -

प्रकृतिसँगै संस्कृतिको नव वर्ष

प्रकाशित मिति: २०७५ चैत ३०, शनिबार

1214
Shares

“डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले

बोकी ल्यायो बकुल वनको बास मीठो हावाले

डाकी मौरी मधुररसमा लेक पाक्यो गुँहेली

गोठाले वनवन डुली हाल्न थाल्यो सुसेली ।”

काठमाडौँ, चैत–वैशाखमा चराहरू कसरी रमाउँछन् ? जङ्गलका जनावरहरू कसरी प्रेम गर्छन् ? मानिस कस्ता गीत गुन्गुनाउँछन् र जीवनलाई माधुर्य बनाउँछन् भन्ने बुझाउन राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘वैशाख’ कविता नै काफी छ ।

यस्ता सयौँ सिर्जना छन्, जसले प्रकृति र समाजलाई सुललित रूपमा शब्दमा बुनेका छन् । लोकजीवनका लय, प्रकृतिका यायावरीय पाटोलाई हरेक मानिसले आफ्ना मन–मस्तिष्कमा उतारिरहेको हुन्छ । प्राकृतिक छटालाई स्रष्टाले टपक्क टिपेर भाका मिलाउँछन् र प्रकृतिलाई नै अर्पण गर्छन् ।

आखिर मानव सभ्यताको थालनी पनि जङ्गल युगबाटै भएको थियो । ‘पुष्पलालका छानिएका रचना भाग–४’ मा आदिम समाजमा मानिसले आफ्नो खाना जुटाउने साधन (ढुङ्गा, तावो, घाँसका रूख) को ठूलो महत्व हुने भएकाले तिनलाई संरक्षण र मान्ने संस्कारका कारण ढुङ्गा, शिवलिङ्ग (महादेव), फलाम (यमराज), पीपल (विष्णु), वरःब्रह्मा, शमी (सूर्य), तुलसी (विष्णु) आदिलाई देवताका रूपमा पुजिन थालिएको त्यसै उल्लेख भएको होइन ।

पछि देवपूजाको संस्कृति र परम्परा बस्यो । मेक्सिम गोर्कीले ‘संस्कृति मानवीकृत दोस्रो प्रकृति भएको’ भनेको कुरा निनु चापागाईंको ‘सन्दर्भ: संस्कृति र सांस्कृतिक रूपान्तरण’ पुस्तकमा उल्लेख हुनुले समाजबाहिर संस्कृतिको अस्तित्व नहुने र प्रकृतिमाथि श्रम र पसिना लगाएर मानिले संस्कृति निर्माण गरेको स्पष्ट हुन्छ ।

प्रकृति र मानिसको यो अप्रितम संवाद वसन्त र गृष्म ऋतुको सङ्क्रमणकालमा बढी हुन्छ । चैतको समाप्ति र वैशाखको आरम्भमा प्राकृतिक वातावरणले कसको मनमा उत्साह र उमङ्ग पैदा नगर्ला र ? दुःखी र गरिबलाई पनि चित्त बुझाउने वा विरहको गीत गाएर सहजै समय गुजार्न चैत–वैशाखको समय मीठो सारथि बन्न सक्छ । किसानले आउँदो असारमा राम्रो बाली लगाउने तम्तयारी गर्छ । व्यापारीले वर्षभरिको खातापाता राफसाफ गर्छ । सरकारी कर्मचारी चालु खर्च सकाउन र नयाँ आर्थिक वर्षको बजेट तर्जुमामा लाग्छन् ।

वसन्त ऋतुमा चिचिलाहरू मुना भएर निस्किन्छन् । चिचिला कोपिला हुन्छ, कोपिलाबाट पालुवा बन्छ । पालुवा पात वा फूल बन्छ । वातावरणलाई हरियाली र शीतलता प्रदान गर्छ । मानिसका लागि गुलजार उपहार ! प्रकृतिको यो परिवर्तन र उपहारलाई मानिसले जीवनमा उतार्न प्रयत्न गरिरहेको हुन्छ । त्यसको समुच्च रूप हो– नयाँ वर्ष र नयाँ पर्व ।

हरेक वसन्त पञ्चमीमा सरस्वती पूजा र अक्षरारम्भ गरिने भए पनि विद्यालय तहमा विद्यार्थीको नयाँ शैक्षिक सत्र पनि नयाँ वर्षमै थालनी हुन्छ । तल्लो कक्षाको परीक्षाफल हातमा लिएर माथिल्लो कक्षामा भर्ना हुने तीव्र प्रतीक्षामा रहेका विद्यार्थी छुट्टीको यो समयमा प्रकृति र वातावरणमै टहलिन पुग्छन् । पर्यटकीय गन्तव्यमा पुगेर नयाँ–नयाँ विषय मनमा सँगाल्न पुग्छन् । नयाँ वर्ष आफ्नो घर र मनको मन्दिरमा भिर्त्याउन मानिसले प्रकृतिसँग प्रेमिल संवाद गरिरहेका हुन्छन् ।

अनेक संस्कृति, जाति र भाषाभाषीयुक्त नेपालमा जातजातिगत नयाँ वर्ष र चाड छन् । व्यावहारिक प्रयोगका दृष्टिले विक्रम संवत्को नयाँ वर्ष विशेष छ, सायद यही भएर विदेशी पनि यस्ता चाड र संस्कृतिबारे अध्ययन, अवलोकन गर्न नेपाल भ्रमणमा आउँछन् ।

नयाँ वर्षे सन्दर्भ र उमङ्गबारे गफिन थाल्दा ८४ वर्षीय संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःलाई सानो छँदा विक्रम संवत्को नयाँ वर्षमा भक्तपुरको तौमडीमा बिस्केट जात्रामा रमाएको सम्झना आउँछ । ग्वङ्गःको मानसपटलमा तिनै भावना र सम्झनाका तरेली नाच्न थाल्छन् ।

नेवारी समुदायमा म्हःपूजा र नेपाल संवत् मनाउने फरक–फरक परम्परा भए पनि वैशाखको नयाँ वर्षसम्बन्धी अनेकन स्मृति ग्वङ्गःजस्ता संस्कृतिप्रेमी र बूढापाकामा अनगिन्ती छन् भनेर वा लेखेर नसकिने छन्– ती स्मृतिहरू ।

बिस्केट जात्रा र नयाँ वर्ष

ग्वङ्गःलाई जस्तै भक्तपुरको संस्कृतिका अध्येता डा. पुरूषोत्तमलोचन श्रेष्ठलाई पनि विक्रम संवत्को नयाँ वर्ष भन्नेबित्तिकै बिस्केट जात्राको सन्दर्भ उठाउन मन लाग्छ । चैत मसान्तको दिनमा लिङ्गो ठड्याउने र नयाँ वर्षको १ गते ढाल्ने यो परम्परा अहिले पनि निरन्तर छ । बिस्काः जात्रा भक्तपुरको थिमी, काठमाडौँको धापासी र टोखामा मनाइन्छ ।

यो जात्रा खाई संल्हुका दिन मनाइने गरिन्छ । भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (ल्योसिं) तान्त्रिक विधिअनुरूप पूजा–अर्चना गरी साँझ ढालिन्छ । बिस्केट जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा लिङ्गो ठड्याइन्छ । पचपन्न हात लामो उक्त ल्योसिं तान्त्रिक विधिपूर्वक दस कर्म विधान गरी ढालिन्छ । ल्योसिं ठड्याउनुअघि ल्योसिंको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर उक्त ल्योसिं ठड्याइने प्रचलन छ ।

बिस्केट जात्रा भैरव र भद्रकालीको रथ तानेर लिङ्गो ठड्याउने परम्परा हो । यो लिच्छविकालीन समयदेखि चलनमा आएको हो । यो शिव सभ्यतादेखि आरम्भ भएको किंवदन्ती छ तर यसबारे वैज्ञानिक तथ्यहरू फेलापरेका छैनन्् । सूर्य्विनायकनिवासी ग्वङ्गः भन्नुहुन्छ, ‘नेपालमा सबै संस्कृतिबारे पर्याप्त खोज–अनुसन्धान हुन सकेको छैन । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ ।’

बिस्केट जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएकाले सबैका शत्रु नाश होऊन् र नयाँ वर्षमा नयाँ काम पूरा होस्, सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । सबै संस्कृति र चाडमा अरू र आफ्नो कल्याणको कामना सधैँ गरिन्छ ।

पहिला–पहिला अहिलेजस्तो शुभकामनाका लागि ‘न्यु इयर ग्रेटिङस्’ दिने प्रचलन थिएन । शुभेच्छाका लागि मनासा त हुन्थ्यो तर वाचा हुँदैनथ्यो । अहिले ह्याप्पी बर्थ डे, न्यु इयर फेस्टिभल हुन्छन् । यो पाश्चात्य सभ्यता र इन्टरनेटको जमानाको प्रभाव हो ।’ ग्वङ्गः भन्छन्, ‘हामीले आफ्नो मौलिक संस्कृतिलाई बिर्सिए क्रिश्चियन पद्धतिको प्रभावलाई बढावा दिनुहुँदैन । हरेक स्थानीय तहले पाठ्यक्रमका रूपमा हाम्रा मौलिक संस्कृति, स्थानीय परम्परा र पर्यावरणबारे अध्यापन गराउने पद्धतिको थालनी हुनुपर्छ ।’

विक्रम संवत्को नव वर्षमा वसन्तु ऋतुको समाप्तिसँगै गृष्म ऋतुको आरम्भ हुन्छ । केही गरौँ भन्ने नयाँ भावना सबैमा पैदा हुन्छ । यसले वर्षभरिलाई नै ऊर्जा दिन्छ ।

‘यो मनोवैज्ञानिक कुरा पनि हो । नयाँ वर्ष उमङ्गको ऋतु हो । प्रकृतिमा मात्र होइन, मानिसको मनस्थितिमा पनि हुन्छ । यौन भावना पनि आउँछ । मानिसमा यौन प्रवृत्ति बाह्रै महिना हुन्छ । वसन्त ऋतुमा बढी उत्तेजना आउँछ । बिस्केट जात्रामा लिङ्गो तानिनु पनि यसैको संयोग हो,’ ग्वङ्गः को भनाइ छ ।

विक्रम संवत्को प्रचलन

विक्रम संवत् नेपाली पञ्चाङ्गमा आधारित प्रयोगमा रहेको नेपालको राष्ट्रिय पात्रो तथा आदि संवत् मानिन्छ । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो –अङ्ग्रेजी) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ ।

यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतः ग्रेगोरियन पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिखमा पर्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह–नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विक्रम संवत् प्राकृतिक रूपमा सञ्चालित हुँदै आएको छ । विक्रम संवत्बारे अनेकौँ विवाद पनि प्रस्तुत भइरहेका छन् । विक्रम संवत् नेपालको आदिसंवत् हो ।

उज्जैन (भारत) का राजा विक्रमादित्यले यो संवत्को प्रारम्भ गरेका हुन् । इतिहासविद् प्रा. दिनेशराज पन्तका अनुसार यो संवत् १०७ सम्म कुँदिएको पाइन्छ । यसलाई पछि विक्रम संवत्मा रूपान्तरण गरियो । विक्रम संवत् सक् संवत्भन्दा १३५, नेपाल संवत्भन्दा ९३६ र इस्वी संवत्भन्दा ५७ वर्ष जेठो छ ।

‘गणितीय दृष्टिले विक्रम संवत्को महत्व छ । कुनै बेलामा वैशाख १ गते दिन र रात बराबर समयको हुने भएकाले पनि यो संवत् चलाउने वैज्ञानिकता प्रमाणित हुन्छ । ज्योतिषीय गणनाका दृष्टि र राशि पद्धतिमा यो संवत् उचित छ । यद्यपि, हरेक जातजातिले आफ्नै मौलिक रूपमा मनाउने नयाँ वर्षको आफ्नै सांस्कृतिक महत्व रहन्छ ।’ इतिहासबारे प्रामाणिक तर्क गर्ने पन्त यो संवत् राणाकालअघि नै प्रयोगमा आएकाले चन्द्रशमशेर राणाको पालादेखि विक्रम संवत् चलेको भन्नेमा उहाँको विश्वास छैन ।

लिच्छविकाल, मल्लकाल, सेन वंशका कतिपय शिलालेखमा र पृथ्वीनारायण शाहका प्रारम्भिक शिलालेखमा विक्रम संवत् उल्लेख भएका छन् । नेपालमा शक् संवत् १८२३ मा आधिकारिक प्रयोगबाट हटाइएको र विक्रम संवत्को १९५८ सालमा नेपालको आधिकारिक पात्रो बनेको पनि इतिहासमा उल्लेख पाइन्छ ।

काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु वज्रयोगिनीको मन्दिरपरिसरको केहीमाथि विक्रमादित्य राजाको टाउकाको बज्राचार्य वंशका पुजारीले पूजा गरिआएका छन् । ती राजाले नेपाललाई विस्तार गर्दै काशीसम्म पुगेका र काशीमा विश्वनाथको मन्दिर स्थापना गरेको भन्ने स्कन्द पुराणको हिमवत्खण्डमा उल्लेख पाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -