२३ फागुन २०७५ । स्मृतिको खुत्रुकेमा ०५५ देखि ०६० को समयका रवीन्द्र दाइ छन् । राजनीतिक दलहरूप्रति विश्वास उडेको थियो । विद्यार्थी संगठन पार्टीको अह्रनखटनमा मात्र चल्थे । त्यहीवेला कमजोर मालेको विद्यार्थी संगठनको नेताको हैसियतमा रवीन्द्र्र दाइले विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याउनुभयो ।
रवीन्द्र दाइसँग पहिलो भेट कहिले भयो, ठ्याक्कै सम्झन सकिनँ । भेट्दा विद्यार्थी राजनीतिकै क्रममा भेटेँ । उहाँ सिनियर हुनुहुन्थ्यो । पाको विद्यार्थी नेता । तत्कालीन एमालेका उदीयमान घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट सबैलाई म दाइ भनेरै सम्बोधन गर्छु, उहाँहरूले गगन वा गगनजी भन्नुहुन्छ । तपाईं भन्नुहुन्छ । माननीयज्यू, मन्त्रीज्यू सम्बोधन चल्दैन ।
स्मृतिको खुत्रुकेमा रवीन्द्र दाइको साँचेर राखिराख्ने कुरा भनेको ०५५ देखि ०६० को समयको हो । त्यसवेला एमाले फुटेको, अरू पार्टी पनि एकदमै कमजोर बनेको र आमनागरिकको राजनीतिक नेतृत्व पंक्तिप्रति विश्वास उडेको अवस्था थियो । विद्यार्थी संगठन पार्टीको अह्रनखटनमा मात्र चल्ने भ्रातृ संस्था थिए । त्यहीवेला मालेको विद्यार्थी संगठनको नेताको हैसियतमा रवीन्द्र दाइले विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याउनुभयो ।
हेर्दा मसिना देखिने, तर विद्यार्थीको दैनिकीसँग जोडिएका मुद्दामार्फत आन्दोलन अघि बढाउनुभएको थियो । जस्तै– सार्वजनिक यातायातमा सहुलियतको मुद्दा । त्यहीवेला गायक प्रवीण गुरुङ सडक दुर्घटनामा मारिन्छन्, तत्कालीन शाहज्यादा पारस शाहको लापरबाहीका कारण । रवीन्द्र दाइ आन्दोलन गर्नुहुन्छ, हस्ताक्षर अभियान चलाउनुहुन्छ ।
दाइ विद्यार्थी संगठनको मुखपत्र निकाल्नुहुन्थ्यो । ब्यानरसहितको, लालटिन बालेको तस्बिरसहित जुलुसको तस्बिर भएको पत्रिका निस्किन्थ्यो । चाख राखेर पढ्थेँ । यही समयमा विश्वप्रकाश शर्मा नेपाल विद्यार्थी संघको नेतृत्वमा आउनुभयो । विश्व दाइसँग पनि आफ्नै खालको क्षमता थियो । यसले विद्यार्थी आन्दोलनमा केही सुरुवात ग(यो । ०५९ सालमा राजा सक्रिय भए । पार्टीहरू एकदमै कमजोर भएको अवस्था थियो । आन्दोलनको जिम्मेवारी विद्यार्थी संगठनको काँधमा आएको थियो ।
नेविसंघको महामन्त्री भएको नाताले मेरो पनि महत्वपूर्ण भूमिका रहने नै भयो । मेरो जोड शैक्षिक एजेन्डामा हुन्थ्यो । रवीन्द्र दाइले शैक्षिक एजेन्डाका बलमा आन्दोलन गरी जुन प्रतिष्ठा आर्जन गरेका थिए, त्यही गर्नुपर्छ भन्ने थियो । प्रतिगमनविरुद्ध आन्दोलनमा सीधै राजनीतिक मुद्दामा जाने कुरा छँदै थियो, शैक्षिक एजेन्डा पनि उचालिराख्नुपर्छ भन्ने धारणा थियो । विद्यालय शिक्षासँग सम्बन्धित ५० बुँदे शैक्षिक माग, इन्जिनियर शिक्षासँग जोडिएको माग, सामुदायिक ‘प्लस टु’मा छात्रवृत्तिको माग, निजी विद्यालयको शुल्क नियमन गर्ने माग त्यतिवेलाको शैक्षिक आन्दोलनमार्फत गरिएको थियो । उपलब्धि पनि हासिल भयो ।
सबैमा रवीन्द्र दाइले नेतृत्व गरेको अखिलको प्रेरणा थियो । हामी पनि आन्दोलन गरिरहेका थियौँ । तर, हाम्रो आन्दोलन प्रतिगमनविरुद्ध केन्द्रित हुन्थ्यो, विशुुद्ध राजनीतिक आन्दोलन हुन्थ्यो । यसले विद्यार्थीको ठूलो पंक्तिलाई आकर्षित गरिरहेको थिएन । तर, रवीन्द्र दाइ नेतृत्वको अखिलको विद्यार्थीलाई जोड्ने आन्दोलनले हामीले सोचेजस्तो आन्दोलन निर्माण गर्न मद्दत गर्यो । त्यतिवेलासम्म रवीन्द्र दाइले विद्यार्थी आन्दोलनबाट अवकाश लिइसक्नु भएको थियो । दाइलाई आन्दोलन निर्माण, परिचालन गर्न सक्ने जुझारु नेताका रूपमा चिन्दछु । यो विशिष्ट खालको क्षमता हो, जुन धेरैमा हुँदैन । त्यतिवेला मैले चिनेको रवीन्द्र दाइको परिचय यही हो ।
पहिलो संविधानसभामा रवीन्द्र दाइ कास्कीबाट निर्वाचित भएर आउनुभयो, म समानुपातिकबाट संविधानसभामा पुगेँ । चुनाव प्रचारका क्रममा कास्की पनि गएको थिएँ । कांग्रेसलाई भोट हाल्दै आएका थुप्रैले उहाँलाई भोट दिएका थिए । कम्युनिस्ट पार्टीको खरो नेता होइन कि उदार, सबैलाई समेट्न सक्ने छवि बनाएका कारण कांग्रेस भनिन रुचाउने मतदाताले पनि रवीन्द्र अधिकारीलाई भोट दिन हिच्किचाएनन् ।
देशैभरि कांग्रेस र एमालेले हार्दा दाइ शानदार ढंगले निर्वाचित भएर आउनुभयो । पहिलो संविधानसभामा उहाँको भूमिका औसत रह्यो । अल्मलिएकोजस्तो देखिनुहुन्थ्यो । लेखा समितिमा हुनुहुन्थ्यो । खासै ठूलो भूमिका निभाउनु भएको याद छैन । एमालेमा ठूलै विवाद थियो । ‘लिंग नछुट्टिएको पार्टी’जस्ता आरोप खेपिरहेको थियो । अन्तिममा संविधानसभा नै भंग हुने स्थिति आयो । यी सबमा दाइ खासै भूमिकामा देखिनु भएन । मुद्दा निर्माण आदिमा बरू हामी क्रियाशील थियौँ । रवीन्द्र दाइ र मैले संविधानसभा किन जोगाउनुपर्छ भनेर अखबारमा संयुक्त लेख लेखेका थियौँ । फरक पार्टीका सभासद्को संयुक्त लेख आफैँमा नौलो थियो ।
निर्वाचन क्षेत्रमा उहाँको लोकप्रियता कायमै थियो, दोस्रोपटक पनि उहाँ जितेर आउनुभयो । अहिले हामीले गुमाएको रवीन्द्र अधिकारीको व्यक्तित्व दोस्रो संविधानसभामा बन्यो । उहाँ विकास समितिको र म कृषि तथा जलस्रोत समितिको सभापति भयौँ । त्यतिवेला हामीले संयुक्त बैठक गर्ने नयाँ अभ्यास थाल्यौँ । संयुक्त बैठक त बस्थे तर, विषय विशेषमा बस्ने चलन थिएन । यस्तो अवस्थामा विशिष्ट पदाधिकारीलाई बोलाएर संयुक्त बैठक बस्यौँ । प्रधानमन्त्री सुशील कोइरालालाई बोलाएर हामीले बजेट खर्च नभएको विषयमा छलफल गरायौँ ।
शासन प्रशासन (गभर्नेन्स)सँग जोडिएका विषयमा दाइले रुचि देखाउनुभयो, क्षमता बढाउनुभयो । नीतिगत तथा प्रशासनिक समस्या कहाँ छन्, के गर्दा समस्या समाधान हुन्छ भन्नेमा उहाँले मिहिन ढंगले अध्ययन गर्न थाल्नुभयो, विज्ञता बढ्दै गयो । कहिले चीनको बोर्डर पुग्नुभयो, बाटो खुलाउने वातावरण निर्माण गर्न । एउटा नेतालाई पूर्वाधार बनाउनुपर्छ भन्ने त थाहा हुन्छ । तर, प्राथमिकता कसलाई दिने, बनाउने स्रोत, बाधा अड्चन के छ ? भन्ने रुचि धेरैमा हुँदैन । पूर्वाधार निर्माणका समस्या बुझ्ने, निरूपण गर्ने प्रयासमै उहाँले चार वर्ष बिताउनुभयो । यही विषयमा लेख्नुभयो, बोल्नुभयो । विकास निर्माणको बहसलाई बाहिर ल्याउनुभयो । यसरी उहाँको नयाँ परिचय बन्यो । संसद्मा पनि उहाँको भूमिका प्रभावकारी देखिन्थ्यो ।
नागरिकता, दलित, महिलालगायतका मुद्दामा मेरो पोजिसन प्रस्ट थियो । रवीन्द्र दाइ भने उदार । मैले ससाना ककसहरूमा पनि काम गरेँ । उहाँचाहिँ त्यहाँ देखिनु हुँदैनथ्यो । विभिन्न पार्टीका युवा नेताको सानो समूह बनाएर पनि काम ग(यौँ । कांग्रेस, एमाले, मधेसवादी पार्टीका नेता सम्मिलित समूह थिए । हाम्रो छिमलका संविधानसभामा भएका र नभएकाहरू पनि थिए । त्यसमा रवीन्द्र्र दाइको ‘पार्टीहरूको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा हो, संविधानसभा भंग हुन दिनुहुन्न’ भन्ने लाइन हुन्थ्यो । हाम्रो सन्दर्भमा शीर्ष नेताहरूको सम्बन्धले दलको सम्बन्ध निर्धारण गर्छ । त्यसैले शीर्ष नेताहरूको सम्बन्ध बिग्रन नदिने काम हामीले गर्नुपर्छ भनेर लाग्यौँ । पोजिसन लि“दैगर्दा मान्छे नजानिँदो पाराले उचालिन्छ । त्यसवेला माओवादीको एउटा पोजिसन र एमाले–कांग्रेसको दुईतिहाइको अर्को पोजिसन थियो । हामी मात्रै मिलेर पनि संविधान जारी गर्न सक्थ्यौँ । तर, पोजिसनकै कारण सम्बन्ध बिग्रन दिनुहुन्न भन्ने पक्षमा दाइ निरन्तर हुनुहुन्थ्यो ।
त्यतिवेला रवीन्द्र दाइले बाहिर के बोल्नुभयो भन्ने कुरा मलाई महत्वपूर्ण लाग्दैन । हामी १० बजे केपी ओलीको घरमा पुगेको सम्झिन्छु । प्रचण्ड सिरहा जानुभएको थियो, हामी दुई घन्टाभन्दा बढी कुर्यौँ । त्यो समूहमा योगेश भट्टराई, शक्ति बस्नेत, टोपबहादुर रायमाझी, मनीष सुमनलगायत थियौँ । तर, केपी ओलीको घर पुग्ने वेला शक्ति बस्नेत, रवीन्द्र अधिकारी र म मात्रै थियौँ । प्रचण्ड र केपी ओलीका बीचमा बोलचाल थिएन । ‘हामी त तपाईंहरूको कुरा पछ्याउने मात्रै हो, सम्हाल्ने भनेको तपाईंहरूले नै हो’ भनेर भन्यौँ । सुशील कोइरालाको घरमा पनि पुग्यौँ । त्यतिवेला नेताहरूको सम्बन्ध बिग्रन नदिन हाम्रा तहका साथीहरू खट्यौँ । हामीले पर्दापछाडि भूमिका खेलिरह्यौँ । अजयभद्र खनाल, विष्णु सापकोटाले संयोजन गरिदिनुहुन्थ्यो ।
तेस्रो चुनाव झन् सजिलै जित्नुभयो, मन्त्री हुनुभयो । म स्वास्थ्यमन्त्री हुँदा रवीन्द्र दाइ, योगेश दाइ, घनश्याम दाइ आदिको पनि शुभेक्षा थियो । कमाएको नाम, जनताको आश नगुमाओस् भनेर चिन्ता राख्नुहुन्थ्यो । मैले पनि रवीन्द्र दाइ मन्त्री भएपछि आफ्नो आठ महिना मन्त्री हुँदाको अनुभवसहित सल्लाह दिन चाहेँ । एकचोटी समय मिलायौँ पनि, तर म संसद् बैठकमा व्यस्त हुनपर्ने भएपछि भेटघाट रद्द गरियो । सार्वजनिक कार्यक्रममा भेट हुन्थ्यो । तर, दाजुभाइ बसेर घन्टौँ छलफल गर्नुपर्ने थियो, जुन अब कहिले नहुने भयो ।
संसद्को एकजना कर्मचारीले रवीन्द्र अधिकारी जहाँ बस्नुहुन्छ त्यहाँ ‘पोजेटिभ भाइब’ ल्याउन सक्नुहुन्छ भन्नुहुन्थ्यो । मचाहिँ यसलाई कसरी भन्छु भने, उहाँको जुन मुस्कान थियो त्यो क्यामराअघि मात्रै थिएन । जहाँ बसे पनि त्यही मुस्कानसहितको रवीन्द्र दाइ भेटिनुहुन्थ्यो । हामी राजनीति गर्ने मान्छेको सार्वजनिक काममा लाग्दा–लाग्दा व्यक्तिगत सम्बन्ध बडो औपचारिक खालको राजनीतिक विषयको वरिपरि मात्रै घुम्ने गर्छ, अरू सबै कुरा हराएजस्तो, गुमेकोजस्तो हुने हुन्छ । रवीन्द्र दाइको सम्बन्धमा यो पाटो फरक थियो । जोसँग अलिकति संगत गर्नुभयो, प्रत्येकलाई ‘सम्बन्ध राजनीतिक मात्रै होइन, असल साथीको पनि हो, अप्ठ्यारोमा भरोसालायक मान्छेको पनि हो’ भन्ने कुरा महसुस गराउनुहुन्थ्यो । त्यही गराएर जानुभयो ।
घनश्याम दाइसँग भेट हुँदा धेरै कुरा सिकिन्छ । भेट्ने मौका मिल्यो भने लामो कुरा गर्छु, प्रश्न सोधिरहन्छु । उहाँलाई पढ्न, सुन्न मजा आउँछ । एकचोटी घनश्याम दाइसँग गहन गफ गर्न पाइने लोभमै इलाममा वास बसेको छु । रवीन्द्र्र दाइ त्यस्तो अध्ययन गर्ने खाले होइनन् । सार्वजनिक मञ्चमा पनि खासै तयारी नगरीकनै उपस्थित भइदिनुहुन्थ्यो । म तयारीसाथ हुनेगर्थें । तर, उहाँको ‘मलाई थाहा छैन, तयारी गरेको छुइनँ’ भन्न लाज नमान्ने स्वभाव थियो । ‘गगनलाई सोध्नुस् उसलाई थाहा छ’ भनिदिने, ‘तपाईं तयारी गर्नुहुन्छ, मेरो त छैन’ भन्न नहिच्किाउने उदारता थियो ।
कति नेतासँग मञ्च सेयर गरियो, तर उहाँजस्तो आफ्नो कमजोरी स्विकार्न तयार हुने नेता फेला पार्न मुस्किल छ । नेताले मलाई थाहा छैन भन्न चाहँदैन । कतिपयलाई रवीन्द्र अधिकारीको सैद्धान्तिक ज्ञानमा पकड कमजोर थियो भन्ने लाग्छ । त्यहीभित्र अर्को सबल पक्ष पनि थियो । हामीलाई त्यस्तो मान्छे पनि चाहिएको छ– सैद्धान्तिक विषयमा रुचि, विज्ञता कम भए पनि शासन÷प्रशासनमा अतिरिक्त रुचि राखिदिने । कानुन, नीति, सिद्धान्तभन्दा परिणाम चाहियो भन्ने पनि टन्नै छन् । ठ्याक्कै प्रभाव पार्ने विषयमै रुचि देखाएर काम गरिरहेको व्यक्ति उहाँ हुनुहुन्थ्यो ।
घनश्याम दाइ, योगेश दाइलगायत धेरै युवा नेताको पहिलो संविधानसभामा उपस्थिति थिएन । कोही हारे, कसैले टिकटै पाएनन् । रवीन्द्र दाइ र मलाई युवा नेता भनेर जता पनि निम्तो आउने । कार्यक्रम पनि एकैखाले हुने । टेलिभिजनको ‘टक सो’मा एकसाथ बोलाइने । हामीले टेलिभिजनमा एकसाथ नजाने सहमति गर्यौँ । कारण थियो, यस्ता ‘टक सो’मा बाझाबाझ पर्न सक्थ्यो । हामी दाजुभाइ बाज्न चाहन्नथ्यौँ । औपचारिक कार्यक्रममा गगन भनेर बोलाउनुहुन्थ्यो बडा माया गरेर । पारिवारिक भेटघाट कमै हुन्थ्यो । तर, गाह्रो परेका वेलामा चिन्ता नगर्नू भनेर सम्झाउनु हुन्थ्यो । ‘हि इज अल्वेज फ्रेन्ड !’
अन्तिम भेट महिनादिन अघिजति एयरपोर्टमा भएको थियो, उहाँ र सांसद बद्री पाण्डे आइप्याडमा रुसोको भिडियो हेरेर बस्नुभएको थियो । उहाँले मेरो सहयोगी सविन मुडवरीसँग ‘तिमी अचेल फेसबुकमा खतरा पोस्ट गरिरहेका छौ नि’ भनेर जिस्किनुभयो । मसँग अञ्जना बहिनी ९मेरी श्रीमती०लाई कस्तो छ भनेर सोध्नुभयो, छोरीहरूको नाममा अल्मलिनुभयो, मैले सम्झाएँ । त्यसपछि भेट भएको भए रवीन्द्र्र दाइले सायद मेरा छोरीहरूको नाम लिएरै सञ्चो– बिसञ्चो सोध्नुहुन्थ्यो । अफसोच, उहाँ हामीलाई छाडेर जानुभयो । नयाँपत्रिकाबाट