ललितपुर, दीपक आचार्य । ६ महिनाको बच्चा लिएर बुहारी पत्रकारिता तालिम लिन आउनु भएका बाजुराका बुहारी पत्रकार कालिका उपाध्यायलाई बाजुराबाट बच्चा सहित तालिममा सहभागि हुन त्यति सजिलो थिएन तर पत्रकार बन्ने अवसर छोड्न पनि उहाँले सक्नु भएन त्यसैले बच्चा हेर्नलाई श्रीमान बसन्तराज रेग्मी सहित तालिममा सहभागि हुनुभयो ।

बाजुराबाट तीन दिने तालिममा सहभागि हुन काभ्रेको धुलिखेल आउनु भएका कालिकाले एक हप्ता घर छोडेर तालिममा आउनु त्यति सहज थिएन । सीआईएनको संयोजनमा रेडियो बुढिनन्दामा एक वर्ष अघिदेखी बुहारी पत्रकारका रुपमा काम गर्दै आउनु भएका कालिकाले बुहारी पत्रकार भएसँगै जीवनमा नयाँ आशा पलाएको र समाजमा प्रतिष्ठा र शक्ति बढेको अनुभब भएको बताउनुभयो ।

त्यस्तै तालिममा सहभागि धनुषाका बुहारी पत्रकार निक्की झाको बच्चाको हेरचाह गरिदिन सासु श्यामा झा आउनुभयो । सामुदायिक रेडियो प्रसारक संघले अघिल्लो साता बुहारी पत्रकारका लागि दिएको तालिममा ४५ भन्दा बढि बुहारी पत्रकारहरु आफ्नो घर धन्दा, बालबच्चा परिवारको लालनपालन छोडेर आए र सीप सिकेर नयाँशक्ति र उद्देश्य बोकेर सामुदायिक रुपान्तरणमा रेडियोको माध्यमबाट योगदान दिने भन्दै फर्किए ।

तर दुर दराजका बुहारीलाई पत्रकार बनाउनका लागि दिएको तालिम र बुहारी पत्रकारिताको बिरुद्धमा केही महिला पत्रकारका अगुवा भन्नेहरुले सामाजिक सञ्जालमा लेखे । त्यसमा राजनीतिक दलको कार्यकर्ता भएर पेशा बचाईरहेका पत्रकार पनि परे । यसको महत्व बुझेका धेरै पत्रकारहरुले भने यो अभियानको प्रसंसा गरे । सामाजिक रुपान्तरण र समृद्धिका लागि बुहारीलाई सञ्चार दुतको रुपमा गाँउगाँउ टोलटोलबाट परिचालन गर्ने यो पवित्र उद्देश्य र अभियानलाई सबैले बुझ्नु आवश्यक छ ।

महिला पत्रकारका हकहितका लागि खुलेका संघसंस्था, जातिय तथा वर्गिय आधारमा खुलेका पत्रकारका संघ संस्थाहरुले त अझै बढि सामुदायिक पत्रकारितालाई बुझ्नु पर्दछ र यो अभियानमा सघाउ पुर्याउनु पर्दछ ।

अहिले सञ्चार माध्यममा व्यवसायिकरुपमा काम गरिरहेका विवाहित महिला पत्रकारलाई बुहारी पत्रकार भन्न खोजिएको होइन । चुलोचौंको र मेलापातोमा सिमित गृहिणी बुहारीहरुलाई पत्रकारिताको सिप प्रदान गरि उनीहरुलाई सशक्त बनाउने उद्देश्यले यो अभियान सुरु भएको हो ।

आफ्नो घरधन्दा सकेर बचेको समयमा समुदायमा पुगेर सवालहरु संकलन गर्ने, रेडियोमा पुर्याउने, रेडियोबाट बाचन गर्ने, फोन मार्फत सीआईएनमा समाचार तथा रिपोर्ट दिने काम बुहारी पत्रकारले गर्दछन् । घरधन्दा, मेलापातो सकेर, घाँस दाउराको भारि बिसाएर रेडियोमा खवर र सवाल दिने बुहारी पत्रकारिता विश्व सञ्चार जगतकै लागि नयाँ र फरक अभ्यास हो । गत वर्षदेखी काम गरेका केही बुहारी पत्रकारहरुले व्यवसायिक पत्रकारले निकाल्न नसकेका समाजका धेरै लुकेका पक्षलाई बाहिर ल्याए । ८ भन्दा बढि बुहारी पत्रकारहरुले त रेडियोमा पुर्णकालिन काम गर्दै व्यवसायिक पत्रकार भैसकेका छन् ।

सम्पतिको अधिकारबाट महिलालाई बन्चित गराउने परिपार्टीको अन्त्यका लागि बुहारी पत्रकारले निरन्तर सवाल उठाउनेछन् ।

सञ्चार माध्यममा महिला पत्रकारको अभाव भैरहेको बेलामा यो अभियानले महिला पत्रकारको संख्या बढाउने काम गर्न सक्दछ । महिलाहरुले भोग्नु परेको हिंसा र पिडालाई बाहिर ल्याउने र त्यसको समाधान गर्ने पुलको रुपमा बुहारी पत्रकारहरुले काम गरे । व्यवसायिक पत्रकार समुदायमा पुगेर बास्तविकता ल्याउन गाह्रो हुन्छ, त्यसैले समुदायमा नै रहेका बुहारीहरुलाई पत्रकारिताको सीप सिकाएर उनीहरु मार्फत त्यस्ता सवाल सजिलै उठाउन सकिन्छ भन्ने सिकाई सीआईएनलाई भएको छ ।

सीआईएन र सामुदायिक रेडियो मार्फत बुहारी पत्रकारका रेडियो रिपोर्ट र समाचार उनीहरुकै आवाजमा प्रसारण हुँदा गाँउ टोलमा आफ्नो प्रतिष्ठा बढेको उनीहरु बताउछन् । रेडियोको रेकर्डर र माइक्रोफोनले आफ्नो शक्ति बढाएको र गृहिणी मात्रै नभई आफु सञ्चारको सम्बाहक भएकोमा बुहारी पत्रकारहरुले गर्व गरिहेका छन् ।

साच्चै परम्परागत हानिकारक अभ्यास, पितृसतात्मक सोच हटाउनको लागि बुहारी पत्रकारले भुमिका खेल्न सक्दछन् । नेपाली समाजमा रहेको वाल विवाह, दाइजो, वोक्सी, छाउपडी, जातीय छुवाछुत जस्ता कुप्रथा र परम्परागत अभ्यासलाई अन्त्य गर्ने कामका लागि बुहारी पत्रकारले ठुलो भुमिका खेल्दै आएका छन् र आगामि दिनमा झन सशक्त सवालहरु उठाउन सक्नेछन् । महिलाका लागि स्थानीय तह र राज्यका संयन्त्रहरुले दिने गरेका सेवा सुविधाको कार्यान्वयनको अवस्थाको अनुगमन गर्न, गलत भएको ठाउमा खवरदारी गर्न अनि थप प्रचार प्रसार गर्न समुदायमा रहेका बुहारी पत्रकारहरुले सक्दछन् ।

सम्पतिको अधिकारबाट महिलालाई बन्चित गराउने परिपार्टीको अन्त्यका लागि बुहारी पत्रकारले निरन्तर सवाल उठाउनेछन् । राजनीतिमा महिलाको सहभागितामा नाताबाद र कृपावादको अभ्यासले गर्दा समावेशीकरणको शिद्धान्तले काम गर्न सकेको छैन त्यसमा बुहारी पत्रकारले निरन्तर सवाल उठाउने छन् । बुहारीहरु आफैले समुदायको पत्रकारको रुपमा सकृय भई आफ्नो समुदायमा रहेका विभेदपूर्ण समाजिक मुल्य, मान्यता, परम्परा, संस्कारहरु अन्त्य गर्न सघाउ पु¥याउने छन् ।

नेपालको संविधान २०७२ र महिलासम्बन्धी कानुनहरुले महिलाका लागि गरेको व्यवस्थाको बारेमा आफु जस्तै महिलाहरुलाई बुझाउनको लागि निरन्तर खट्ने बुहारी पत्रकारहरुले प्रतिवद्धता जनाएका छन् । संविधान र कानुन बन्ने बित्तिकै समाजमा रहेको विभेद त अन्त्य भएन त्यसैले अब समाजको तल्लो तहबाट नै परिवर्तनका प्रयास गर्नु पर्दछ । त्यो परिवर्तनका सम्बाहक बुहारी पत्रकार हुन सक्दछन् । बुहारी पत्रकारले उठाएका सवाललाई सामुदायिक रेडियो र सीआईएनको मार्फतबाट नीतिगत तहमा जोड्ने काम गरिने छ ।

घर परिवार चलाउने जिम्मेवारी लिएका बुहारीहरु सबै भन्दा ठुलो बिभेदमा परिरहेका छन् अनि सबै भन्दा बढि हिंसा भोगिरहेका छन् । त्यही बिभेदमा परेको वर्गलाई सञ्चारको शक्ति मार्फत सशक्तकरण गरेर समतामुलक समाज निर्माण गर्ने नै यो पत्रकारिताको लक्ष हो । सबै स्थानीय तह र वडा तहसम्म स्वयंसेवी बुहारी पत्रकारहरु राखेर उनीहरुको क्षमता बृद्धि गर्ने योजना सामुदायिक रेडियो प्रसारक संघले बनाएको छ । सामुदायिक पत्रकारिताको यो अभ्यासलाई व्यावसायिक पत्रकारिता भन्दा फरक नजरले हेरेर यसको महत्वलाई बुझ्नु र बुझाउनु आवश्यक छ ।

आचार्य सामुदायिक सुचना नेटवर्क सीआईएनका म्यानेजर हुनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्