अशोककुमार क्षेत्री

जापानले दोस्रो विश्वयुद्दमा हार खाएपछि यसको पुन:निर्माणमा पश्चिमाहरूले ठूलो रकम सहायता गरे । सो रकम कहाँ-कसरी खर्च भयो ? पुन: निर्माण कहाँसम्म पुग्यो भनी निरिक्षण टोली जापान पुग्दा झण्डै सबैजसो रकम शिक्षामा लगानी गरेका रहेछन् ।

लहरैका स्कूल र कलिला विद्यार्थीलाई देखाउदै भनेछन्, ‘उ हाम्रा इन्जिनीयरसाबहरू। हाम्रो पुन: निर्माणको जग यही हो । यिनैले गर्नेछन् पुन:निर्माण। ‘ त्यही शिक्षाको परिणाम हो आज जापानले लोभलाग्दो विकास गरी विश्वलाई देखाइदिएको छ ।

५ वर्षमुनीका वालवच्चालाई हेरचाह गर्ने र हुर्काउने थलो हो नर्सरी स्कूल (हुइकैन) । यो विशुद्द छुट्टै स्कूल हो । यहाँ पढ्न सिकाइँदैन । केवल आपसमा मिलेर खान, बस्न, र सरसफाइका आचरणहरू सिकाइन्छ । जापान सरकारले सञ्चालन गरेका नर्सरी स्कूलमा भर्ना पाउन निकै कठिन छ ।

निजी नर्सरी स्कूल केही महङ्गा त हुन्छन तर पनि निश्चित सिटका कारण यहाँसमेत भर्ना पाउन उस्तै मुस्किल छ । यी विद्यालयको सम्पूर्ण जिम्मा वडा कार्यालयमार्फत स्थानीय सरकारले लिएको हुन्छ ।

बच्चाको भर्ना निश्चित गरेपछि, निशुल्क स्वाश्थ्य परीक्षण गराउने अनिवार्य कानुन छ ।स्कूलमा बच्चालाई पानी निषेध हुन्छ । सरकारले उनीहरूलाई (ओच्या) ग्रिन-टीको प्रबन्ध गरेको छ । पानीको सट्टामा चिया मात्रै दिने चलन रहेछ जापानमा ।

खाना पनि स्कूलले नै प्रबन्ध गर्छ । दिनहुँ खानाको लागि, चम्चा, चियाको लागि कप र ट्वाइलेट तथा कक्षाकोठाका लागि दुईवटा छुट्टाछुट्टै रूमाल लग्नुपर्छ ।

बच्चालाई नुहाउन, खेल्न र सुत्न मनग्गे व्यवस्था हुन्छ । एक सेट इनडोर सुज, टावेल, विस्तारादेखि अलग्गै कपडासमेत लग्नुपर्छ । स्कूलमा चोटपटक नलागोस् भनी मैदानमा धुलो, माटो राखिएको हुन्छ । दिनहुँ चित्र कोर्नु, दौडनु, खेल्नु, खानु, सुत्नु अनि हरेक साँझ नुहाँएरै फर्कनु उनीहरूको दैनिकी हो ।

गृहकार्य कदापी हुँदैन । कथाका राजकुमार-राजकुमारीलाई झै स्वागत र विदाइ गरिन्छ । नर्सरी स्कूलमा अभिभावकको पनि हाजिरी हुन्छ । ५ वर्ष पुरा पुगेपछी भव्य ग्रेजुयसन समारोह हुन्छ । ‘हेरन तिमीसँगै पुरानो वर्ष सकियो र नयाँ आइरहेछ ।

अब, तिमी पढ्नका लागि योग्य भयौं । गर्वले छाती फुकेको र शीर उठेको हेर्ने हाम्रो रहर छ । तिमीलाई बिर्सने छैनौँ र हामीलाई पनि नबिर्सनु । यसैगरी सधैँभरि मायालु रहनू । तिम्रा हरेक कदममा सफलता मिलोस् । सधैँभरि स्वस्थ्य रहनू ।’ विदाइको बेलामा यस्सै भावका गित गाईन्छ ।

‘सायोनारा’ अर्थात एकअर्काबाट छुटिँदा के बलक, के शिक्षक वा अभिभावक सबैजसो भक्कानिएर निर्धक्क रुन्छन्, अनि एकसाथ गीत गाउँछन् ।संयोगवस, मेरो छोरा अशल क्षेत्रीले यो नर्सरी स्कूल पढ्न र ग्रेजुयट हुने मौका जापानमा नै पाएकाले यो सब खोतलेरै लेख्न सकेको हुँला ।

कक्षा १ देखि ६ सम्मको स्कूललाई प्राथमिक स्कूल अर्थात इलिमेन्टरी स्कूल (शोगाक्को) भन्छ । यहाँ पनि एक चरण स्वाश्थ्य परीक्षण हुन्छ । अजिब कुरा के लाग्यो भने सबैले एउटै प्रकृतिको लोन्देसेरू (स्कूले झोला) बोक्छन् ।

यसको मूल्य मात्रै ३० देखि ६८ हजारसम्म पर्छ । असाध्यै महङ्गो, छालाको झोला । यसको मूल्यबारे मैले फेसबुकमै पनि लेखिदिएँ । तर, कस्तो आश्चर्य ! सुरक्षाको दृष्टिले यो ब्रम्हअस्त्र रहेछ । जापान भूकम्प र सामुद्रिक आँधीबाट प्रभावित भइरहेने क्षेत्र हो ।

यो झोला यानी (लोन्देसेरू) भूकम्पको बखत बच्चाले टाउको लुकाउन र आपत पर्दा पानीमिथ तैरिन उपयोगी हुने गरी बनाएको कुरा सुनेर थप अचम्ममा परेँ म ।

जीपीएसलगायत एमर्जन्सी सिठीदेखि अनेक उपकरण राखेको तर जापानभरका प्राथमिक स्कूलमा सबैले बोक्नुपर्ने झोला हो यो । प्राथमिक स्कूलको अर्को विशेषता विद्यार्थीसँगै शिक्षक-शिक्षिकाले एउटै खाना सगोलमा खाने चलन रहेछ जापानभर ।

उनीहरूले सरसफाइ स्कूलबाटै सिकेका हुन्छन् । हरेक विद्यार्थीको आफ्नो एउटा निजी बिरूवा हुन्छ । आफ्नो बिरूवालाई माया गर्न, पानी हाल्न र त्यसमिथ फूल लाग्दा रमाउन तथा उत्सव मनाउन सिकाइन्छ । बिदाको समयमा बच्चाको अभिभावकले त्यो विरूवाको गमला घरमा ल्याउनु पर्दछ ।

दिनहुँ कतिवटा फूल लागे ? कस्ता रङका फूल फूले ? के कस्ता परिवर्तन भए बच्चाले टिपेर प्रतिवेदन तयार पार्नुपर्छ र स्कूल खुलेपछि फेरि लैजानुपर्ने रहेछ ।अब सुस्त-सुस्त पढाइ र गृहकार्य सुरू हुन्छ । फर्निचर बनाउने, गोडमेल गर्ने, बच्चाको रुचि र क्षमताको क्षेत्र पहिल्याउने चरण हो, यो प्राथमिक स्कूल ।

नियमितका अभिभावक बैठकमा एउटै प्रश्न वारम्बार सोधिन्छ । बच्चाले स्कूलपछिको समय कसरी बिताउँछ ? पढ्छ-लेख्छ भनियो भने त उनीहरू आश्चर्यमा पर्छन् र भन्छन्, पढ्न त स्कूलमा पढिहालेको छ । बच्चाको चाहना र रूचि केमा छ भन्ने जान्न उनीहरू निकै उत्सुक हुन्छन् ।

उदाहरणका लागि ‘खेल्छ’ भनियो भने ‘के खेल्छ’ भनेर सोध्छन् । हामीले त भेटेको खेल्छ भनिदिन्छौँ तर उनीहरू यस्तो कुरा बुझ्दैनन् । यहाँका बालबच्चा एउटा मात्रै खेल खेल्छ । यसप्रकार, उ व्यावसायिक बन्दै जान्छ ।

निस्कर्षमा, विद्यालयको शिक्षा पद्दति नै समाजको ऐना र भविष्य हुँदोरहेछ । जापानको पुन: निर्माणको कथा नेपालमा लागू गर्न सकिने देख्छु म । हाम्रो देशको भविस्य पनि पुस्तान्तरण गर्नु उपयुक्त हुन्छ कि जस्तो लाग्छ।

हाम्रा मूल्य-मान्यताको जगेर्ना गर्ने पवित्र थलो पनि स्कूलै हो । हामी भन्दा हाम्रा बालबच्चा निकै चलाख छन् । सजिलै हाम्रो झुठ र इमान खुट्याउन सक्छन् । हाम्रो भविष्य र आशाका धरोहर हुन् उनीहरू । समाज बदल्ने र इतिहास निर्माणको लहर चलेको छ ।

सरसफाइ, सदाचार र देशप्रेमसहितको विकासको मूल फुटाउनुपरेको छ । हो, यहाँबाट नै समाजको दीर्घकालीन बदलाव सम्भव छ । यसर्थ, बालबालिकाहरूलाई इमान्दारी, पौरख र सीप दिनुपर्छ । आमूल परिवर्तनको आधार शिक्षा नै रहेछ । यसतर्फ सबैको ध्यान जानु आजको आवश्यकता बनेको छ ।

लेखक अशोककुमार क्षेत्री सर्वोच्च अदालतमा उप-रजिष्ट्रार पदमा कार्यरत हुनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्