गोरखा, नेपाली कांग्रेसबाट गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका दिपकबाबु कँडेलले आफूले उम्मेदवारी नछोड्ने बताएका छन्।
गोरखामा सत्तागठबन्धनका दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिअनुसार ११ वटै पालिकामा दलहरूले आ-आफ्नो तवरबाट उम्मेदवारी दिएका थिए।
तर जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो गृहनगर पालुङटारको मेयर जसपाले पाउनुपर्ने माग गठबन्धन बैठकमा गर्दै आएका छन्।
गत शुक्रबार बिहान बालुवाटारमा सत्तागठबन्धन बैठकमा पनि भट्टराईले पालुङटार छाड्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए।
सोही दिन अपरान्ह सभापति देउवाले कँडेलको उम्मेदवारी खोसेको पत्र सिधै निर्वाचन अधिकृत कार्यालयमा पठाए पनि ५ बजेभन्दा ढिला पत्र आएको भन्दै उनको उम्मेदवारी कायमै छ।
तर आज सत्तागठबन्धन बैठकले उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि सहमति गरेर जान र निर्णय नमाने कारबाही गर्ने चेतावनी दिएको छ।








































