काठमाडौं, ९ चैत्र २०७८ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को नेपालका आवासीय प्रतिनिधि आइसानी मेदागान्गोदा लाबेले शासकीय क्षेत्र, लैगिक क्षेत्र, समावेशी आर्थिक बृद्धि जस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्ने बताएका छन । युएनडिपीले आगामी ५ वर्षका लागि नेपाल सम्बन्धी रणनीतिक योजना तयार गरिरहेको जानकारी पनि लावेले दिएका छन ।
लाबेले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले विश्वका १ सय ७० भन्दा बढी देशमा सहकार्य गरिरहेको जानकारी गराउँदै नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको वर्तमान सन्दर्भमा लगानी बोर्ड नेपालसँगको सहकार्यले तीन तहकै सरकारका क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने धारणा राखे ।
साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित मंगलबार लगानी बोर्ड नेपाल र युएनडिपी बीच भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा लाभेले सो कुरा बताएका हुन । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट लाबेले हस्ताक्षर गरेका हुन । समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उल्लेख छ । नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवद्र्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न सहकार्यले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्याकन मापदण्ड, परियोजना विकास सम्झौता (पिडिए) र परियोजना लगानी सम्झौता (पिआइए) निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यको लागि सहयोग स्थापित गर्ने कुरा समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । लगानी बोर्डको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई विकास गर्न सहकार्य गर्ने लगायतका अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्त रुपमा अघि बढ्ने समेत जनाएको छ ।








































