दमौली, मंगलबार, ८ चैत्र २०७८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्य तथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने काँग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काँग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गर्नु भयो । एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘काँग्रेसले एमसीसी पास गर्यो, त्यही कारण काँग्रेसलाई भोट देऊ भनेर जनतामाझ जानुपर्छ ।
एमसीसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उहाँको भनाइ थियो ।
नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीकाे विरोध गर्नेहरू राष्ट्रघाती भएको आरोप लगाउनु भयो । ‘देश विकास गर्ने पार्टी काँग्रेस हो, देशलाई काँग्रेसले मात्रै बलियो बनाउँछ,’ नेता पौडेलले भन्नुभयो, ‘देशको भविष्य सोचेर काँग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।’
काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विश्वेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।








































