काठमाडौं, शनिबार, २२ माघ २०७८ । नेपाल चलचित्रकर्मीको टिमले कोरोना महामारीको तेस्रो लहरबाट उत्पन्न विकराल परिस्थिति र यस परिस्थितजन्य अवस्थितिले नेपाली चलचित्र उद्योगमा निम्त्याएको समस्या र यसका समाधानबारे अवगत गराउन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटवार्ता गरेको छ ।
बिहीबार नेपाल चलचित्र निर्माता संघको अगुवाइमा विभिन्न चलचित्रकर्मीले मन्त्री कार्कीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा कोरोना महामारीको विकराल स्थितिबाट अति प्रभावित रहेको चलचित्र क्षेत्रलाई गतिशीलतातर्फ डोर्याउन राज्यको सहयोग अनिवार्य रहनुपर्ने र तत्कालका लागि बन्द रहेका चलचित्र भवनहरूलाई कोभिडको स्वास्थ्य प्रोटोकलबमोजिम तुरुन्तै सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ ।
मन्त्री कार्कीले चलचित्र क्षेत्रलाई पुरानै स्थितिमा फर्काउन राज्यले सक्दो सहयोग गर्ने र तत्कालका लागि सिनेमा भवन सञ्चालनको विषयमा सरकारबाट यथासक्य चाँडो सुखद निर्णय आउने आश्वासन दिएको निर्माता संघका महासचिव रोज राणाले जानकारी दिनुभएको छ ।








































