प्रि–प्रोडक्सनको चरणदेखि नै चर्चामा रहेको निर्देशक तथा अभिनेता निखिल उप्रेती तथा अभिनेत्री सञ्चिता लुइँटेलको फिल्म ‘आचार्य’ को यूनिटबाट एउटा ठूलो खबर बाहिरिएको छ।
हाल नेपालमै छायांकनको चरणमा रहेको यो फिल्ममा बलिउडका प्रख्यात अभिनेता सञ्जय दत्त ले अभिनय गर्ने पक्का भएको छ। प्राप्त जानकारीअनुसार फिल्म ‘आचार्य’ मा काम गर्नका लागि सञ्जय दत्तले समय मिलाएका छन्।
केही समयअघि फिल्ममा सुनिल सेठ्ठी वा सञ्जय दत्तमध्ये एक जना बलिउड अभिनेताको सहभागिता रहने चर्चा भए पनि को रहने भन्ने विषय निश्चित भएको थिएन। तर अब भने ‘आचार्य’ मा सञ्जय दत्तको अभिनय पक्का भएको छ।
फिल्ममा काम गर्नका लागि सञ्जय दत्तले आफू तथा आफ्नो टिमका लागि ८० लाख भारतीय रुपैयाँ पारिश्रमिक माग गरेको बताइन्छ। यद्यपि, उनलाई दिने पारिश्रमिकको विषयमा भने अन्तिम टुंगो लागिनसकेको र कागजी सम्झौता हुन बाँकी रहेको जनाइएको छ।
अहिले केही दिनका लागि छायांकन रोकिए पनि आगामी सातादेखि ललितपुरमा छायांकन पुनः सुरु हुनेछ। त्यसपछि फिल्मको बाँकी छायांकन मुम्बईमा गरिनेछ, जहाँ सञ्जय दत्त पनि सहभागी हुने बताइन्छ।
नेपाली फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको अभिनय रहने खबरले नेपाली दर्शकहरूमा थप उत्साह सिर्जना गर्ने निश्चित छ।








































