नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बुधबारको बन्दसत्रमा ११ वटा समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि आफ्नो सुझाव राखेका छन् । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा प्रदेश १ का प्रतिनिधि रहेको समूहले नेपाली समाजवादको मौलिक बाटो भनेको के हो भन्दै प्रश्न उठाएका छन् ।
राजनीतिक प्रतिवेदनका विषयमा टिप्पणी गर्नेक्रममा प्रदेशका प्रतिनिधिले समाजवाको मौलिक बाटोका विषयमा अस्पष्ट भएको बताएका हुन् । यसलाई स्पष्ट बनाएर जानु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने समूहले पार्टीका प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । पार्टी पदमा रहने अवधि विधानमा नै तोकिनुपर्ने सुझाव दिएको हो । कांग्रेस र एमाले लगायतका पार्टीमा पार्टीका कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था रहेकोमा माओवादीमा पनि त्यही व्यवस्था राख्नुपर्ने सुझाव नेतृत्वकहाँ पुगेको हो । माओवादी केन्द्रको अध्यक्षमा दाहाल तीन दशकभन्दा बढी समयदेखि निरन्तर रहँदै आएका छन् ।
गण्डकी प्रदेशका प्रतिनिधिले पार्टी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य रूपमा सरकारी स्कुलमा पढाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । नेता र तीनका परिवारको जीवनशैली साधरण बनाउँदै लैजानु पर्नेमा गण्डकी प्रदेशका प्रतिनिधिले जोड दिएका छन् । सो समूहले पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको आचरण तय गर्नुपर्नेका साथै प्रत्यक्ष निर्वाचित कार्यकारीबारे पनि पार्टीको कुरा स्पष्ट पार्नेपर्ने सुझाव दिएको छ ।
कतिपयले भने राजनीतिक दस्तबेज कार्यान्वयनमा नै शंका व्यक्त गरेका छन् । कतिपय प्रतिनिधिले प्रतिवेदनमा ल्याइएका योजनामाथि नै प्रश्न उठाएको बताइएको छ । बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छलफल स्थगित गरिएको छ । अब बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ ।
पदाधिकारीका लागि मात्रै निर्वाचन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पदाधिकारी चयनका लागि निर्वाचन पनि हुनसक्ने संकेत गरेका छन् ।
आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्र सकेर बुधबार प्रज्ञा भवनबाट बाहिरिँने क्रममा दाहालले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका हुन् । सकेसम्म सहमति गर्ने नभए अन्य विकल्पमा पनि जान सकिने बताएका हुन् । माओवादीमा अध्यक्षमा दाहाल नै दोहोरिने करिब निश्चित भएपनि महासचिवसहितका पदमा भने तिब्र प्रतिस्पर्धा देखिएको छ । आकांक्षी नेताको सूची लामो हुँदा सबै पदमा सहमति हुने सम्भावना कमजोर देखिएको छ । सहमति नभए अध्यक्ष र केन्द्रिय सदस्य मात्रै चयन गरेर महाधिवेशन सक्ने की निर्वाचनको विकल्पमा जाने भन्ने विषयमा अझै अन्योल कायमै छ । बुधबार अध्यक्ष दाहालले भने चुनाव पनि हुनसक्ने संकेत गरेका छन् ।
बन्दसत्रमा बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका छन् । अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ । बिहीबारको बन्दसत्रमा बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ । प्रतिवेदन पारित भएसँगै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । प्रक्रिया लम्बिँदै गएका कारण महाधिवेशन थप दुई दिन लम्बिने देखिएको छ ।








































