राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरूप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन्।
स्व. राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा राप्रपाको भ्रातृ संगठन नेपाल प्राज्ञिक परिषदले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र : एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए।
उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन्।
सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसंग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटक-पटक देशभक्ति प्रमाणित गरेको बताए।
नेपाली कांग्रेसका नेता एवम् नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले नेपालो संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरू नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने खरो टिप्पणी गरे।








































