मुम्बई । दिल्लीमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि त्यहाँको सरकारले राति कफ्र्यु लगाउन सुरु गरेको छ । योसँगै त्यहाँ एलर्ट जारी गरिएको छ । जसका कारण त्यहाँका सिनेमा हल अनिश्चित समयका लागि बन्द गरिएको निर्णय केजरीवाल सरकारले गरेको छ ।
यसअघि त्यहाँका सिनेमा हलमा एक सिट छाडेर ५० प्रतिशत मात्र दर्शक राखेर फिल्म देखाउने गरिएको थियो । तर, पछिल्लो साताबाट कोरोनाको संक्रमण बढेपछि सरकारले फिल्म हल बन्दको निर्णय गरेको हो । चार महिनाअघिबाट खुलेको दिल्लीका सिनेमा हल बन्द हुँदा बलिउडको व्यापारमा करिब १५ प्रतिशतले असर पर्ने अनुमान गरिएको छ ।
यसरी फिल्म हल बन्द गरिएपछि शाहिद कपुरको मुख्य भूमिका रहेको फिल्म जर्सीको प्रदर्शनी स्थगित गरिएको छ । भारतमा ओमिक्रोनको संक्रमण बढेपछि त्यहाँका अन्य प्रान्तमा पनि सावधानी बढाइएको छ ।









































