२० जेठ, सिरहा । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदीको बहुप्रतीक्षित पुल निर्माण डेढ दशकदेखि अलपत्र पर्दा सिरहा र धनुषावासीमा सरकारप्रति तीव्र असन्तोष बढेको छ। गत भदौ २३ र २४ गतेको जनआन्दोलनपछि बनेको नयाँ राजनीतिक शक्तिले यस क्षेत्रको विकासमा गति दिने स्थानीयको आशा थियो। तर, जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा पुलका लागि रकम विनियोजन नभएपछि स्थानीयवासी आक्रोशित र निराश बनेका हुन्।
करिब १५ वर्षअघि निर्माण सुरु गरिएको यो पुल विभिन्न प्राविधिक र व्यवस्थापकीय लापरबाहीका कारण रोकिँदै आएको छ। पछिल्ला वर्षहरूमा बाढीले निर्माणाधीन संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माण झन् सुस्त बनेको छ। हाल पुलको काम ठप्प जस्तै छ र स्थानीय बासिन्दा सीमित मर्मत तथा अस्थायी व्यवस्थामार्फत ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।
धनुषाका स्थानीय रामबाबु साहका अनुसार पुल नबन्दा दुवै जिल्लाका नागरिकले दैनिक रूपमा सास्ती भोगिरहेका छन्। “कमला पुल सञ्चालनमा आएको भए सिरहाबाट धनुषा करिब ३० मिनेटमै पुगिन्थ्यो। तर अहिले वैकल्पिक मार्ग प्रयोग गर्दा दुईदेखि तीन घण्टासम्म समय खर्चिनुपर्छ,” साहले दुखेसो पोखे।
केही महिनाअघि मात्रै पुल छेउमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि यो क्षेत्रको यातायात झन् जटिल बनेको छ। बर्खायाम सुरु भएसँगै स्थानीयमा दुर्घटनाको त्रास बढेको छ।
साहले अगाडि थपे, “पानी कम भएका बेला त जोखिम मोलेर आवतजावत गरिरहेका छौँ, तर बाढी आएका बेला कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ। विगतमा पनि बाढीका बेला सवारीसाधन र मानिसहरू नदीमा फसेका तथा बगेका घटना भइसकेका छन्।”
नयाँ सरकार र बजेटले समेत हुलाकी सडकको यो मेरुदण्ड मानिने पुललाई उपेक्षा गरेपछि स्थानीयले अब आन्दोलनको चेतावनी समेत दिन थालेका छन्।








































