शुक्रबार देखि परेको हिमपातले उत्तरी गोरखाको जनजीवन मा चिसोका कारण अत्यन्तै कष्टकर बनेको छ ।
उत्तरी गोरखाको बारपाक सुलिकोट, धार्चे गाउँपालिकाका केही ठाउँ र चुमनुब्रीका सात वटै वडामा हिमपात भएको छ । शुक्रबारदेखि गोरखाको धार्चे गाउँपालिकाको केही स्थान र चुमनुब्रीका सात वटै वडामा हिमपात भएको हो ।
बारपाक सुलिकोटको बारपाक, धार्चेको लाप्राक, केरौँजा, गुम्दा, काशिगाउँ, सिङ्ला, लाप्राकमा हिमपात भएको छ । त्यस्तै, चुमनुब्रीको सात वटै वडामा हिमपात भएको छ ।
‘हिउँ परेर पानीका धाराहरु पनि पुरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अबस्था पनि छैन । स्कूलहरु पनि बन्द गरेका छन् । पसलसम्म पुग्न पनि कष्टकर छ । स—साना बच्चाहरु अनि बुढापाका मान्छेलाई चिसोले भेटिहाल्छ कि भन्ने चिन्ता छ’, धार्चे गाउँपालिका लाप्राककी उम्नी गुरुङले टेलिफोनमा भनिन्, ‘जनजीवन त अत्यन्तै कष्टकर छ ।’
उत्तरी गोरखामा कार्तिक महिनाको अन्तिमदेखि नै हिमपात सुरु हुन्थ्यो । तर, यस बर्ष भने हिमपातमा ढिलाई भएको हो । यहाँका स्थानीयहरुले हिमपात नभएको बर्ष भोकमरी लाग्ने बर्षको रुपमा बुझ्ने गर्दछन् । यस बर्ष समयमा नै हिमपात नहुँदा चिन्तित बनेका स्थानीयहरु शुक्रबारदेखि भने कष्टकर जीवनयापनमा पनि रमाईरहेका छन् ।









































