नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएका नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँबाट फेरि राजनीतिलाई सक्रिय बनाउन लागेका छन्।
महाधिवेशनको उद्घाटन समारोहपछि बोहोराटारस्थित निवासमा ‘गुप्तवास’ मा रहेका नेता पौडेल राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर तनहुँबाट राजनीतिलाई सक्रिय बनाउन लागेका हुन्।
उनी राष्ट्रिय मेलमिलाप दिवस मनाउन गृहजिल्ला तनहुँ जाने कार्यक्रम निर्धारण गरिएको सचिवालयले जनाएको छ। कांग्रेसले संस्थापक नेता वीपी कोइराला लामो समयको निर्वासन जीवन त्याग गरी मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा मेलमिलाप दिवस मनाउँदै आएको छ।
बीपी २०३३ सालमा पुस १६ गते मेलमिलापको नीति अबलम्बन गरेर भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए। पौडेल मेलमिलाप दिवसको कार्यक्रममा सहभागी हुन आउँदो बिहीबार दमौली जाने कार्यक्रम रहेको छ।
पौडेल मेलमिलाप दिवसको कार्यक्रमका साथै तनहुँ कांग्रेसको नवनिर्वाचित जिल्ला कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ। तनहुँमा पौडेलनिकट सभापतिका उम्मेदवार निवर्तमान सभापति बैकुण्ठ न्यौपानेलाई पराजित गर्दै जीतप्रकाश आले निर्वाचित भएका छन्।
आलेलाई तनहुँमा केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराईलगायतका नेताहरुले सहयोग गरेका थिए। तर, उनी आफू नेता पौडेलकै पक्षमा रहेको बताउँदै आएका छन्।








































