काठमाडौँ, शुक्रबार, ९ पौष २०७८ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
सन्त नेता स्वर्गीय भट्टराईको ९८औँ जन्मजयन्तीका अवसरमा किसुनजी अध्ययन केन्द्रले आज किसुनजीको सालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रियताको पक्षमा सधैँ अडिग रहने नेता किसुनजी भएको बताउनुभयो । “निष्ठा, आदर्श र राष्ट्रियताको पक्षमा किसुनजीले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँको सादगी जीवनको सबैले अनुसरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
केन्द्रका अध्यक्ष अविनाश सिलवालले सन्त नेता किसुनजीले देखाएको बाटोमा कांग्रेस हिँड्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
विसं २०७३ मा स्थापना भएको अध्ययन केन्द्रले किसुनजीका बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै नयाँ बानेश्वरमा किसुनजी पार्क र किसुनजीको सालिक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । उक्त पार्क तथा शालिक निर्माणमा काठमाडौँ महानगरपालिका–१० को समेत महत्वपूर्ण सहयोग रहेको छ ।









































