काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताउनु भएको छ ।
आईतवार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता सिंहले यस्तो बताउनु भएको हो ।
उहाँले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताउनु भयो । नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली काँग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै नेता सिंहले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताउनु भयो ।
नेता सिंहले भन्नुभयो, ‘झन्डै दुई तिहाइ मत हामीले प्राप्त गर्नुपर्ने हो, १६५ मा २३ सिटमा झर्ने ? यस्तो नेतालाई हामीले फेरि राख्यो भने अब स्थानीय निर्वाचन आउँदैछ, प्रान्तीय निर्वाचन आउँदैछ, संघीय निर्वाचन आउँदैछ । जो कि जनताबाट जसको नेतृत्वमा काँग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी गरेको संविधानलाई संस्थागत गर्न मत माग्न जाँदा भोट हामीलाई आउनु पर्नेमा नआएको कारणले गर्दा नेतृत्वमा कमजोर छ भन्ने कुरा प्रमाणित हुन्छ । नेतृत्वको परिवर्तन आवश्यक छ । नेतृत्व परिवर्तनमा साथ छ कि छैन भन्ने कुरा काठमाडौं जिल्लाको अधिवेशनको मत परिणामबाट थाहा हुन्छ । बेथितीबाट पार्टीलाई विधि, नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ ।’
नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।








































