काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल पराजित भएको क्षेत्रमा ३० वर्षीय युवाले महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएका छन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेल पराजित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा ३० वर्षीय सुशील भट्ट खुलातर्फ सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य भट्टले जम्मा खसेको २ सय ५० मध्ये १ सय ५१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
खस-आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका मुख्य सचिव पौडेलले भने कुल खसेकोमध्ये ८३ मत मात्रै पाएका छन्।
युवा नेता भट्ट कांग्रेसमा १३ औँ महाधिवेशनपछि बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा छन्। उनी महामन्त्रीका दाबेदार केन्द्रीय सदस्य प्रदीप पौडेलनिकट मानिन्छन्।
सार्वजनिक नतिजाअनुसार भट्ट निर्वाचित क्षेत्रमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि पराजित भएका छन्।
खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका पाण्डेले ६० मतमा चित्त बुझाएका छन्।
भट्ट केन्द्रीय सदस्य रहेको नेविसंघका तत्कालीन महामन्त्री सरोज कुमार थापा पनि काठमाडौं-७ बाट पराजित हुने अर्का चर्चित अनुहार हुन्।
खुलातर्फ महाधिवेशन प्रतिनिधि बनेका थापाले मात्र ३६ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।
त्यही निर्वाचन क्षेत्रबाट १४ औँ महाधिवेशनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष भरतप्रसाद खरेल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
खुलातर्फ उम्मेदवारी दिएका निर्वाचन समितिका सदस्य केसीले ८१ र पूर्वअध्यक्ष खरेलले ३३ मत मात्रै ल्याएका छन्।








































