अछाम, बुधबार, २४ कात्तिक २०७८ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताउनु भएको छ ।
एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्ने क्रममा डा. रावलले एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको हो । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उहाँको भनाई रहेको छ ।
उहाँले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिनुभयो । ‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ’, भीम रावलले भन्नुभयो ।
उहाँले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताउदै कार्यकर्ताको भावनालाई कदर गर्दै १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गर्नु भयो ।
नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरलगायत सहभागी हुनु भएको थियो ।








































