काठमाडौँ, शुक्रबार, ८ साउन २०७८ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।
राजीनामा फिर्ता लिन रावलसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेता भानुभक्त जोशी, सुदूरपश्चिम प्रदेशका अन्य सांसदहरु संसद सचिवालयमा पुगेका थिए।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभन्दा अगाडि रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका थिए । tतर, उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरेका थिएनन्।








































