काठमाडौं, बुधबार, १२ जेठ २०७८ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि प्रक्रिया थालेको छ । एमालेको स्थायी कमिटी बैठकले नेपाल, झलनाथ खनाललगायत ११ जनालाई कारबाही गरेपछि नयाँ दल दर्ताको प्रक्रिया थालेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाल, खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने र थप १२ जना सांसदहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
लामो समय पार्टीको नेतृत्वमा रहेका र प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णयपछि सँगै बस्न सकिने अवस्था नभएको नेपाल पक्षीय नेताहरू बताउँछन् । पार्टी निर्माणमा ठूलो योगदान गरेका व्यक्तिहरूलाई कारबाही गर्ने बहानामा आफ्नो गुट बलियो बनाउँदै लगेका ओलीसँग बस्न सक्ने अवस्था नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ ।








































