काठमाडौँ, १६ बैशाख २०७८ । नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ ।
निर्धारित समयको राति १२ बजेसम्म वेबसाइटमा सात लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको र त्यसमध्ये नयाँ तीन लाख ८९ हजार ४५१ तथा नवीकरण तीन लाख ६३ हजार ८९३ रहेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले राससलाई जानकारी दिनुभयो । पार्टीको निर्णयअनुसार नै वैशाख १५ गते राति १२ बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो ।








































