काठमाडौँ, वैशाख ३ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीधनीको लापरबाहीका कारण काठमाडौँ उपत्यकामा सवारी साधन हराउने र चोरी हुने समस्या बढेको जनाएको छ ।
करिब १५ दिने खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २६ वटा मोटरसाइकल बिहीबार सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गर्दै महाशाखा प्रमुख जनक भट्टराईले चालककै कारण सवारी हराउने र चोरी हुने गरेको बताउनुभयो ।
पार्किङस्थलबाट सवारी चोरी हुने र ट्राफिक प्रहरीले बरामद गर्ने कार्य नियमित प्रक्रियाजस्तै भयो उहाँले भन्नुभयो, “लाखौँ रुपियाँ खर्चेर मोटरसाइकल किन्नुहुन्छ । सुरक्षाका विषयमा त्यत्तिकै संवेदनशील बन्न आग्रह गर्छु । ”
काठमाडौँ उपत्यकाबाट दैनिक तीनवटासम्म मोटरसाइकल हराउने गरेका छन् । प्रतिदिन सरदर एउटा बरामद हुने गरेको छ । महाशाखाका अनुसार बरामद हुनेभन्दा हराउने र चोरीको समस्या बढ्दो छ ।
खाली स्थान भेट्नेबित्तिकै पार्किङ गरिहाल्ने, घरआँगनमा पार्किङ गर्दा पनि ‘लक’ नगर्ने र सवारी साधनलाई प्रयोगको भाँडो मात्र बनाउने गरेका कारण सवारी साधन चोरीको समस्या बढेको भनाइ प्रहरी अधिकारीको छ ।
उपत्यकाबाट हराएका तथा चोरीका सवारी साधन ताप्लेजुङदेखि सुदूरपश्चिमको कैलालीबाट समेत बरामद हुने गरेका छन् ।
कतिपय हराएको २४ घण्टाभित्र र केही १० वर्षपछि पनि बरामद गरिएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । चालू आर्थिक वर्षमा एक हजार १७६ हराएकामध्ये ३६४ थान बरामद भएका छन् । आर्थिक वर्ष २०७६÷७७ मा एक हजार ३७९ मध्ये ३७५ र आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ७१० मध्ये ४०६ वटा बरामद भएका छन् ।








































