- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोली हानेर युवकको हत्या गर्ने व्यक्ति लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइ

December 11, 2025
57
Shares

बर्दियामा गोली चलाएर  २८ वर्षीय युवकको हत्या भएको घटनामा प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको छ। 

बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका-२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो।

चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्रीसमेत रहेका डिल्लीबहादुर चौधरीका साइँला भाइ हुन्। 

उनलाई बर्दिया र कैलालीबाट खटिएको प्रहरीको संयुक्त टोलीले एउटा खाली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको कैलालीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए। 

आइतबार बिहान बर्दियाको राजापुर नगरपालिका-४ मा आफैले सञ्चालन गर्दै आएको हमार थारू घर एन्ड रेस्टुरेन्टमा महावीरले गोली हानेर दाङ तुलसीपुर उपमहानगरपालिका-६ का २८ वर्षीय निरज चौधरीको हत्या गरेका थिए। 

पोल्ट्री फर्म रहेको जग्गा पनि पूर्वमुख्यमन्त्री चौधरीकै हो। पोल्ट्री फर्मको रेखदेखका लागि भनेर निरजलाई दाङको तुलसीपुरबाट बर्दिया लगिएको थियो।

महावीरले निरजको कन्चटमा गोली हानेका थिए। प्रहरीले घटनास्थलबाट गोली पनि बरामद गरेको बर्दियाका निमित्ति प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाशसिंह कार्कीले जानकारी दिए। 

रेस्टुरेन्टबाट प्रहरीले महावीरको पासपोर्ट, भिजा, अमेरिकी डलर लगायतका कागजात बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महावीरले निरजलाई तल्लो बाटो हुँदै अमेरिका पठाइदिने भनेर पैसा लिएका थिए। नातामा निरज महावीरका नाति पर्छन्। 

अमेरिकामा गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएयता आप्रवासी नीतिमा कडाइ गरेका छन्। नाकामा कडाइ गरेसँगै तल्लो बाटो भएर अमेरिका जाने क्रम धेरै हदसम्म नियन्त्रण गरेका छन्।

त्यही कारण महावीरले निरजसँग मोटो रकम लिए पनि उनलाई अमेरिका पठाउन सकेका थिएनन्। अमेरिका जान नपाउने भएपछि निरजले महावीरसँग पैसा फिर्ता मागेका थिए।

आइतबार पनि निरजले महावीरसँग पैसा फिर्ता मागेका थिए। लगातार पैसा फिर्ता माग्न थालेपछि महावीरले निरजको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

महावीर अमेरिकी ग्रीन कार्ड भएका व्यक्ति पनि हुन्। परिवारसहित अमेरिका बस्दै आएका उनी नेपाल आउजाउ गरिरहन्थे।

त्यही क्रममा उनले त्यहाँका धेरै आफन्त र चिनजानका युवालाई तल्लो बाटो अमेरिका पठाउने  प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट  रकम लिने गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।

केही समय पहिले सोही लेनदेन मुद्दामा महावीरलाई दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनी छिट्टै छुटेका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको भए पनि उनीविरूद्ध मुद्दा चलेको रेकर्ड फेला नपरेको निमित्त प्रमुख इन्स्पेक्टर विनोदराज खत्रीले जानकारी दिए।

२०४७ मा तुलसीपुरको कपडादेवीस्थित महेन्द्र माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विष्णुप्रसाद शर्मामाथि ढुंगा प्रहार गरी टाउको फुटाइदिएका थिए। 

महावीरले उक्त रेस्टुरेन्ट बर्दियाको राजापुर नगरपालिका-४ कि रामकुमारी थारूसँग साझेदारीमा चलाएका थिए।

रेस्टुरेन्ट भने रामकुमारीकै नाममा दर्ता छ। उनी महावीरका साली हुन्।

महावीरले तल्लो बाटो अमेरिका लैजाने भनेर निरजसँग कति पैसा लिएका थिए भनेर नखुलेको प्रहरीले जनाएको छ।

गोली प्रहारपछि ढलेका निरजलाई महावीरले सहयोगीहरूलाई  भनेर उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होम पुर्‍याएका थिए।

भाग्न सजिलो होस् भनेर उनले निरजलाई जिल्ला अस्पताल नलगेर टाढाको नर्सिङ होम लैजान सहयोगीलाई अह्राएको बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलले बताए।

बिहान ८ बजेतिर निरजमाथि गोली प्रहार भएकोमा ११ बजेमात्रै अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले चेकजाँच गर्ना साथ निरजलाई मृत घोषणा गरेका थिए।

त्यसपछि मात्रै अस्पतालले बाँके प्रहरीलाई मृतकको कंचटमा गोली लागेकोजस्तो देखिएको र घटना शंकास्पद रहेको भनेर जानकारी दिएको थियो।

सूचनापछि प्रहरी रेस्टुरेन्ट पुग्दा घटनास्थलमा लिपपोत र सरसफाइ गरिसकेको भेटिएको थियो। त्यसरी सरसफाइ र लिपपोत गरी प्रमाण मेटाउन सहयोगी भूमिका खेलेको आरोपमा प्रहरीले महावीरकी साली रामकुमारी र उनका ५० वर्षीय श्रीमान बुद्धि थारू र  छोरा २२ वर्षीय राहुल थारूलाई नियन्त्रणमा लिइसकेको छ।

उनीहरूले नै निरजलाई सवारी साधनको व्यवस्थापन गरी नेपालगन्ज नर्सिङ होम पठाएको भनेर बयान दिएका छन्।

निरजका बुवा रामबुझाउना थारूले मंगलबार नै किटानी जाहेरी दिएका थिए। निरजका बुवा-आमा भारतमा काम गर्छन्। छोराको हत्या भएपछि उनीहरू नेपाल आएर प्रहरीमा किटानी जाहेरी दिएका थिए।

निरज रामबुझाउनका एक्ला छोरा हुन्। सर्पदंशबाट उनको १४ वर्षीय कान्छा छोराको मृत्यु भएको थियो।

 पोस्टमर्टमपछि मंगलबार नै शव बुझेर उनीहरूले निरजको अन्त्येष्टि गरिसकेका छन्। बिहीबार दिउँसोसम्म पोस्टमर्टम रिपोर्ट पनि आइसक्ने प्रहरीले जनाएको छ।

पक्राउ परेका महावीरलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ।  

- ADVERTISEMENT -